सोमबार, ३ असार २०८१
DainikNepal.com
सोमबार, ३ असार २०८१

‘नेपालमा कार्ल मार्क्स जीवित छन्’

दैनिक नेपाल २०८१ जेठ ४ गते ७:५७

–आनन्द प्रसाद पोखरेल ।

१९९० को दशकमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन विघटन र विसर्जनको अवस्थाबाट एकातिर गुज्रेको थियो भने अर्कातिर उग्रपन्थता र जडसुत्रवादको चुकलमा जकडिएको थियो । आन्दोलन रक्षात्मक थियो । रुसलगायत कतिपय मुलुकमा कम्युनिष्ट पार्टी धमाधम विघटन भइरहेको थियो ।

यो विषम परिस्थितिमा नेपाललगायत विश्व कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्दै मार्क्सवादको विरोधी सम्राज्यवादी शक्तिको विरुद्ध संघर्ष गर्दै कम्युनिष्ट आन्दोलनलाई विचार संगठन र राजनीतिको क्षेत्रबाट पुनर्गठन गर्नुपर्ने थियो । यो सच्याइलाई आत्मसाथ गर्दै जननेता मदन भण्डारीले “विसर्जनवाद र जडसुत्रवादको विरोध गरौँ ! मार्क्सवादको श्रृजनात्मक प्रयोग गरौँ !!” भन्ने नारासहित मार्क्सवाद भित्र नयाँ आयम थप्दै जनताको बहुदलीय जनवाद (peoples multiparty democracy) सिद्धान्तको प्रतिपादन गर्नुभयो । जब उहाँले यो सिद्धान्त प्रतिपादन गर्नुभयो विश्व कन्युनिष्ट आन्दोलनमा नयाँ शिराबाट बहसको सुरुवात भयो । कम्युनिष्ट आन्दोलन भित्रका देब्रे र दाहिनी शक्तिहरुमा नयाँ आतंक सृजना भयो । सुरुमा यसलाई पचाउन गार्‍हो भयो । तर नेपालमा यो सिद्धान्त कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हुँदै निर्वाचनमार्फत सर्वाहारा श्रमजीवि वर्ग राज्यसत्ताको हिस्सा बन्न सफल भयो ।

बहुदलीय प्रतिस्पर्धामार्फत नेपालको कन्युनिष्ट पार्टी एमालेले सरकारको नेतृत्व गर्न सफल भयो । हिजो सामान्ती पूँजीवादीहरुले श्रमजीवि वर्गलाई दबाउन प्रयोग भएका लोकतन्त्रका विशेषतलाई मदन भण्डारीले जनताको बहुदलिय जनवाद (जबज)को १४ विशेषताको रुपमा १. संविधानको सर्वोच्चता, २. बहुलवादी खुला समाज, ३. शक्ति पृथकीकरणको सिद्धान्त, ४. मानवअधिकारको रक्षा, ५. बहुदलीय प्रतिस्पर्धाको प्रणाली, ६. आवधिक निर्वाचन, ७. बहुमतको सरकार र अल्पमतको विपक्ष, ८. कानुनको शासन, ९. जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, १०. विदेशी पूँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग, ११. क्षतिपूर्ति, १२. विदेश नीति, १३. नेतृत्व र अधिनायकत्व, १४. जनताको बहुदलीय जनवाद भनि परिभाषित गर्नुभयो । अहिले यो नेपाली सिंगो कम्युनिष्ट आन्दोलनको मेरुदण्डको रुपमा विकसित भइरहेको छ । वित्तीय एकाधिकार पूँजीवादीले लोकतन्त्रको नाममा जनता ठग्ने हतियारको रुपमा प्रयोग गरेका यि विषय अहिले जबजको विशेषता बन्यो। आवधिक निर्वाचन पूँजीवादीहरुको मात्र प्रतिस्पर्धा सम्झने बुर्जुवा पूँजीवादीहरुले अब कन्युनिष्ट पार्टीसँग पनि प्रतिस्पर्धा गर्नपर्ने भयो । कम्युनिष्ट पार्टीलाई एकदलीय निरंकुश तानशाहा भनेर सत्तोसराप गर्ने बुर्जुवाहरु पनि मार्क्सवादीसँग प्रतिस्पर्धा गर्नुपर्ने परिपाटी सुरु भएको छ । निर्वाचनमार्फत पूँजीपन्थिको हातबाट आवधिक राजनीतिक सत्ता कम्युनिष्ट पार्टीको हातमा निर्वाचनमार्फत आएको छ । यो योगदान विश्व राजनीतिक मञ्चमा नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन महासचिव जननेता मदन भण्डारीको हो ।

जेठ ३ गते २०५० का दिन कमरेड मदन भण्डारी र कुशल संगठक जीवराज आश्रतिको चितवनको दासढुगांमा रहस्यमय जीप दुर्घटना भएर मृत्यु भएको ३१ वर्ष बितेको छ । दिवंगत कमरेडहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । आज जबजको सिद्धान्त नेपाली कम्युनिष्ट आन्दोलनको मार्गदर्शक सिद्धन्त बनेको छ । विज्ञान र प्रविधिको अभुत पूर्व विकासको कारण सञरमार्फत विश्व सानो गाउँ जस्तो छ । कम्प्युटरको विकास, डिजिटलाईजेसन र एआईको विकासले उत्पादनका साधन र ऊत्पादक शक्तिमा ब्यापक फेरबदल आएको छ । यसकारण वर्ग, वर्ग  संघर्षका रुपहरु फेरिएका छन् । आजको लडाई पृथ्वीमा मात्र नभएर स्पेसमा समेत हुँदैछ । हिजोको परम्परावादी युद्धको ठाउँमा आणविक युद्धले लिँदैछ ।

त्यसैले नेपाललगायत विश्वको कम्युनिष्टहरुले ब्यलेटको युद्धमार्फत सामन्तको अवशेषहरु दलाल नोकरशाही पूँजीवाद र वैदेशिक साम्राज्यवादी हस्तक्षेपको विरुद्ध संघर्ष गरेर उनीहरुलाई पराजित गर्नु हो । यो लडाई जीत्ने कष्टसाध्य हतियार भनेको ब्यालेट हो । निर्वाचन रुपी वर्ग संघर्ष हो । कम्युनिष्ट आन्दोलनमा यो सिद्धान्तको प्रतिपादक र प्रणनेता जननेता मदन भण्डारी हुनुहुन्छ ।

अन्तमा जाँदाजाँदै १९९१ मे २७ मा अमेरीकाको न्युजविक पत्रिकाले मदन भण्डारीको बहुचर्चित अन्तरवार्ता प्रकाशित गरेको थियो । जसको शिर्षक In Nepal Karl Marx’s lives रहेको थियो । २०४८ सालको आम निर्वाचनमा नेकपा (एमाले)ले महत्वपुर्ण सफलता हातपारेपछि विश्वको कम्युनिष्टी विरोधी एकाधिकार पूँजीवादी चकित भए । विश्वमा कम्युनिष्ट र मार्क्सवादको सिद्धिएको वा मृत्यु भएको भनेर गीत गाइरहेको बेलामा नेपालमा एमालेले यो अपूर्व सफलता प्राप्त गरेको थियो । कम्युनिष्टहरु पुन संगठित हुँदै थिए । एकताबद्ध हुँदै थिए । मार्क्सवादको श्रृजनात्मक प्रयोगको सार्थकता प्राप्त हुँदै थियो । नचाहेर पनि पूँजीवादीहरुले नेपालको कम्युनिष्ट आन्दोलनको उपलब्धि र प्रगतिलाई स्विकार गर्दै यो अन्तरवार्ता प्रकाशन गरेको थियो । त्यसैले भन्न सक्छौँ मदन भण्डारी आधुनिक मार्क्सवादको विकासमा मार्क्स, एंगेलस, लेलिन र माओ पछि पाँचौँ योगदान दिने महत्वपूर्ण व्यक्तिको रुपमा कमरेड मदन भण्डारीलाई लिनु पर्दछ । जसको वैचारिक योगदानको कारण विश्व कम्युनिष्ट आन्दोलनले नयाँ ऊर्जा प्राप्त गरेको छ ।

(लेखक पोखरेल नेकपा एमालेका पोलिटब्यूरो सदस्य हुनुहुन्छ)

प्रतिक्रिया
सम्बन्धित