
काठमाडौं, ३ जेठ । युरोपेली देश स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त भएको जनाइएको छ । ५६ वर्षीय प्रधानमन्त्री फिकोमाथि बुधबार आक्रमणकारीले पाँच राउण्ड गोली हानेका थिए । आक्रमणकारीको उमेर ७१ वर्ष रहेको जनाइएको छ ।
पाँच राउण्ड गोली हानेकामा एउटा प्रधानमन्त्री रोबर्ट पेटमा लागेको थियो । पेटमा गोली लागेपछि साढे ३ घण्टा लगाएर उहाँको शल्यक्रिया गरिएको त्यहाँको उपप्रधानमन्त्री थोमस ताराबालले सञ्चारमाध्यमलाई जानकारी दिनुभयो ।
ताराबाले फिकोको शल्यक्रिया गरिएको बताउँदै स्वास्थ्यमा सुधार आएको जानकारी दिनुभएको हो ।

बुधबार ह्यान्डलोवा सहरमा रहेको सांस्कृतिक हलबाहिर प्रधानमन्त्री भाषण दिइरहेका बेला उहाँमाथि आक्रमण भएको हो । प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ र सोधपुछ जारी राखेको जनाएको छ ।
स्लोभाकियाकी राष्ट्रपति जुजाना कापुटोभाले आक्रमणको निन्दा गर्नुभएको छ ।
यस्तै, घटनापछि गृहमन्त्री माटेउज सुताज इस्टोकले आक्रमण राजनीतिक रूपमा प्रेरित भएको टिप्पणी गर्नुभएको छ ।
राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटर टाढा रहेको ह्यान्डलोभा सहरमा आक्रमण भएको हो ।
युरोपेली आयोगका प्रमुखले आक्रमणको निन्दा गर्नुभएको छ ।
फिकोले ३० सेप्टेम्बर २०२३ मा स्लोभाकियामा संसदीय चुनाव जित्नुभएको थियो ।








प्रतिक्रिया