सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

सही स्थितिको सही विश्लेषण नै ​मार्क्सवाद हो : खगराज अधिकारी

दैनिक नेपाल २०८१ जेठ २ गते १९:३०

पोखरा, २ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले)का स्थायी कमिटी सदस्य खगराज अधिकारीले सही स्थितिको सही विश्लेषण नै ​मार्क्सवाद भएको बताउनुभएको छ ।

बुधबार एमाले कास्कीको आयोजनामा पोखरा १६ खोलाखेत स्थित मदन–आश्रित स्मृति पार्कमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । पुँजीवादी जनवादी क्रान्ति शान्तिपूर्ण बाटोबाट हुन्छ भन्ने जननेता मदन भण्डारीको भनाइले त्यसलाई प्रष्ट पारेको उहाँले खुलाउनुभयो ।

‘भयो त्यस्तै भोट हालेर ४ जना राजावादी भए, अरु सबै गणतन्त्रवादी, मदन भण्डारी ज्योतिषी त होइन नि !, तर सही स्थितिको सही विश्लेषण नै ​मार्क्सवाद हो, त्यो विश्लेषण गर्नुभयो ।’ अधिकारीले भन्नुभयो ।

जनताको बहुदलीय जनवादले पुँजीवादी जनवादमा मात्र नभएर समाजवादमा पनि दलीय प्रतिष्पर्धालाई खुला गरेको भनाइ उहाँको थियो ।

‘बहुदलीय जनवादले के भन्यो भने समाजवादी समाजमा पनि वर्गीय अस्तित्व रहन्छ, प्रतिष्पर्धा रहन्छ, पुँजीवादी जनवादमा मात्र हैन समाजवादमा पनि दलीय प्रतिष्पर्धालाई खुला गर्‍यो, त्यहीँ बाटोमा आज हामी छौँ ।’ उहाँले भन्नुभयो ।

सिपी मैनाली र झलनाथ खनाल जनताको बहुदलीय जनवादको विरोधी भएको र माधव नेपालले पनि दोस्रो पटक बहुमत देखेपछि भोट हालेको उहाँको दाबी छ । ‘सिपी मैनाली, झलनाथ खनाल जनताको बहुदलीय जनवादको विरोधी हुन्, माधव नेपालपनि बहुदलीय जनवादमा भोट नहालेका मानिस हुन्, दोस्रो पटक मात्र हाले बहुमत देखेपछि ।’ अधिकारीले थप्नुभयो ।

जननेता भण्डारीको निधनले नेपाली राजनीतिमा अपुरणीय क्षति पुर्‍यााएको भन्दै भण्डारीको विचारलाई अनुसरण गर्दै उहाँले देखेको सपनालाई साकार पार्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय पुँजीको विकासबिना समाजवादमा जान नसकिने भएकोले राष्ट्रिय पुँजीको विकासमा ध्यान दिनुपर्नेमा मुख्यमन्त्रीसमेत रहनुभएका अधिकारीले जोड दिनुभयो ।

एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दर्शन लामाले गर्नुभएको थियो ।

एमाले कास्कीले जननेता मदनकुमार भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३१औँ स्मृति दिवसको अवसरमा बुधबार सरसफाइ, माल्यार्पण तथा जबजका विशेषताहरूको वाचन कार्यक्रम आयोजना गरेको हो । वडा पार्टी कमिटी पोखरा-१६ को व्यवस्थापनमा भएको कार्यक्रममा एमालेका नेता, जनप्रतिनिधि र शुभचिन्तकको सहभागीता रहेको थियो ।

कास्कीको जिल्ला अधिवेशन उद्घाटन गरेर फर्कने क्रममा २०५० साल जेठ ३ गते दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो ।

एमाले कास्कीले स्मृति दिवसको अवसरमा बिहीबार जिल्ला पार्टी कार्यालयमा नेपालको कम्युनिष्ट आन्दोलनमा मदन–आश्रितको योगदान विषयक प्रवचन कार्यक्रमको आयोजना गर्ने अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित