
हेटौंडा, २ जेठ । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको ३५औं स्थापना दिवसको अवसरमा मकवानपुरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
राष्ट्रिय युवा संघ मकवानपुरको आयोजनामा एमाले जिल्ला पार्टी कार्यालयमा दीप प्रज्वलन तथा जनआन्दोलनका घाइते गोकर्ण तिवारीलाई सम्मान गरिएको छ । राष्ट्रिय युवा संघ मकवानपुरका संयोजक राजेश नगरकोटीको अध्यक्षता र युवा संघका केन्द्रीय लेखा आयोग प्रमुख सन्तोष चौलागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
यसैगरी, स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ हेटौंडा उपमहानगर कमिटीले हेटौंडा-२ स्थित ओम वृद्धाश्रममा फलफूल वितरण गरेको छ । नगर कमिटी अध्यक्ष अनिल काफ्लेका अनुसार स्थापना दिवसमा आश्रममा आश्रित वृद्धवृद्धाहरुलाई पौष्टिकयुक्त खानेकुरा प्रदान गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय युवा संघका बागमती प्रदेशका कोषाध्यक्ष नरेन्द्र भण्डारी, जिल्ला संयोजक राजेश नगरकोटी, सहसंयोजक सविन मोक्तानलगायतको उपस्थिति रहेको थियो ।
यस्तै, युवा संघ मकवानपुरगढी कमिटिले मकवानपुरगढी-४ स्थित ज्वालादेवी आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरी स्थापना दिवस मनाएको छ ।
भीमफेदी गाउँपालिका कमिटिले भीमफेदी-५ स्थित बाराही आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ ।
मनहरी गाउँपालिका कमिटिले मनहरी-५ स्थित भोजशिद्ध माविका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
यसैगरी, राष्ट्रिय युवा संघ हेटौंडा-९ वडा कमिटीले कुष्माण्ड त्रिवेणी धाममा सरसफाई गरेको छ ।








प्रतिक्रिया