
काठमाडौं, २ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति कति होला ? मोदी आफैले दिएको जानकारीअनुसार भने उहाँको चल सम्पत्ति तीन करोड भारतीय रुपैयाँभन्दा बढी छ ।
उहाँले देखाएको तीन करोडमध्ये धेरैजसो रकम बैंकमा मुद्दति छ । लोकसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्नेमा प्रधानमन्त्री मोदीले आफ्नो सम्पत्ति तीन करोड रहेको उल्लेख गर्नुभएको छ ।
बीबीसीका अनुसार मोदीले मनोनयन दर्ता पत्रमा आफ्नो चल सम्पत्ति ३ करोड २ लाख ६ हजार ८ सय ८९ रहेको उल्लेख छ । त्यसमध्ये २ करोड ८५ लाख भारतीय स्टेट बैंकमा मुद्दति निक्षेप रहेको छ । यसबाहेक मोदीसँग चार वटा सुनका औँठी छन्, जसको मूल्य २.६७ लाख पर्छ ।
मोदीले गत आर्थिक वर्षमा ३.३३ लाख रुपैयाँ आयकर तिर्नुभएको थियो । मोदीले नगदबारे यसरी खुलाएपनि उहाँको अचल सम्पत्ति कहाँ कति छ भन्नेबारे खुलाइएको छैन् ।
जशोदाबेनलाई प्रधानमन्त्री मोदीकी पत्नीको रूपमा वर्णन गरिएको छ । उहाँसँग कति सम्पत्ति छ भन्ने जानकारी खुलाएका छैनन् ।
मोदीले सन् २०१९ को लोकसभा निर्वाचनमा गुजरातको गान्धीनगरमा आवासीय जग्गासहित २.५ करोडको सम्पत्ति रहेको बताउनुभएको थियो । जसमध्ये १.२७ करोड रुपैयाँ मुद्दती निक्षेप थियो ।
सन् २०१४ मा भने उहाँले १.६५ करोड सम्पत्ति रहेको खुलाउनुभएको थियो ।








प्रतिक्रिया