
काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रमका कारण नेकपा एमाले जनताकोबीचमा स्थापित भएको बताउनुभएको छ ।
नेकपा एमाले रामेछाप जिल्ला स्कुल विभागले सोमबार मन्थलीमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले पार्टीलाई थप बलियो बनाउन दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई परास्त गर्नुपर्ने बताउनुभएको हो । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माणको लागि दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई समाप्त गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
वैचारिक र राजनीतिक काम कम गर्न लागेपछि एउटा इमानदार क्रान्तिकारी पनि बिग्रने उहाँको भनाइ छ । पार्टी प्रधान नभएर अमुक नेता प्रधान बनेपछि नेता, कार्यकर्तामा विचलन आउने र पार्टी समाप्त हुने उहाँले बताउनुभयो । एमालेबाट माधव नेपालहरू छुट्टिँदा धेरै मान्छेहरू पार्टी भन्दा व्यक्ति रोजेका कारण फरक धारमा लागेका र उहाँहरू समाप्तिको बाटोमा उन्मुख हुनुभएको उहाँले स्पष्ट पार्नुभयो ।
नेकपा बनाएपछि पार्टीको काम ठप्प भएको कारण केही मान्छेहरू बिग्रिएका र तिनै बिग्रिएका मानिसले पार्टी फुटाउने काम गरेका उहाँले बताउनुभयो । यति बेला माधव नेपाल आफूहरूले जित्न नसके पनि एमालेलाई हराएर गठबन्धनको बहुमत पुर्याउन सकेकोमा गर्व गर्दै हिँड्नुभएको पोखरेलले टिप्पणी गर्नुभयो।
नेपालको निर्णायक आन्दोलनमा कांग्रेससँगै भए पनि आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्ने कुरामा भने कांग्रेस चुक्ने गरेको उहाँको भनाइ छ । कांग्रेसकै कारण बारम्बार प्राप्त उपलब्धि गुमेको टिप्पणी गर्नुहुँदै उहाँले कांग्रेसको नियत कहिल्यै सफल नरहेको धारणा व्यक्त गर्नुभयो ।
नेपालको राजनीति विपीको मान्यता विपरीत चलेको पोखरेलले बताउनुभयो । विपी बाँचुन्जेल कम्युनिष्टसँग मिलेर आन्दोलन गर्न नमानेको कारण पञ्चायत ३० वर्षसम्म चलेको उहाँको भनाइ छ । मदन भण्डारीको पहल र गणेशमान सिंहको अग्रसरतामा कांग्रेस र कम्युनिष्ट मिलेर जनआन्दोलन गरेपछि २०४६ को आन्दोलन सफल भएको उहाँले प्रष्ट पार्नुभयो ।
पोखरेलले २०४६ को परिवर्तनपछि संविधान बनाउने बेला पनि कांग्रेस अलग धारमा उभिएको कारण देश पछि परेको बताउनुभयो । त्यति बेला कांग्रेस वाममोर्चाको पक्षमा उभिएको भए राजतन्त्र त्यति बेलै समाप्त हुने उहाँको भनाइ छ । माओवादी र राजवादीबीच पनि गुप्त छलफल हुने गरेको र माओवादीले राजासँग मिलेर आन्दोलन गरेको पोखरेलले टिप्पणी गर्नुभयो । माओवादी र राजावादीबीच सहमतिको तयारी भइरहेको बेला तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि माओवादी बाध्य भएर राजनीतिक दलसँग मिल्न आएको पोखरेलले बताउनुभयो । ‘माओवादीको प्रहारको निशाना कहिल्यै राजवादी बनेनन्, उनीहरूको प्रहारको निसाना कांग्रेस र एमाले थिए’, उहाँले भन्नुभयो ।
पोखरेलले चुनाव नै नलडेको माओवादीलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदमा एमालेको सरह सिट दिएर एमाले र माओवादीलाई लडाउने काम गरेको बताउनुभयो । तर आज त्यसको सबैभन्दा बढी क्षति माओवादीले बेहोरिरहेको पोखरेलले टिप्पणी गर्नुभयो । राजनीतिका परिवर्तनलाई लक्षको रूपमा बुझ्न नहुने बताउनुभयो । राजनीतिक परिवर्तन समृद्धि र समाजवादको आधार मात्र भएको उहाँले प्रष्ट पार्नुभयो ।
एमाले जति बेला सरकारमा गयो त्यति बेल देश र जनताको विकास र समृद्धिको लागि काम गरेको पोखरेलले दाबी गर्नुभयो । यो कुरा जनताकोबीचमा पुर्याउन नसक्दा विरोधीले एमाले विरुद्ध हिलो छ्याप्ने काम गरेको स्पष्ट पार्नुभयो । अल्पसङ्ख्यकको संरक्षण, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षाका कार्यक्रम एमालेले ल्याएको उहाँले प्रष्ट पार्नुभयो । हुलाकी सडक, पूर्वपश्चिम राजमार्ग विस्तार, फाष्ट ट्रयाक, विमानस्थल, सुरुङ, रेल, पानी जहाजदेखि आकाशमा स्पेस लिनेसम्मको काम एमाले सरकारले गरेको उहाँले स्मरण गर्नुभयो ।
पोखरेलले देश बनाउनको लागि देश र जनताको भावना बुझेको नेता आवश्यक पर्ने बताउनुभयो । ‘नेपालको समकालीन राजनीतिमा एमाले अध्यक्ष केपी ओली जत्तिको देश र जनता बुझेको नेता कोही पनि छैन’, उहाँले भन्नुभयो । देश निर्माणको लागि अर्को महत्त्वपूर्ण कुरा बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने पोखरेलले बताउनुभयो । नेकपा एमाले अहिले सबैभन्दा बलियो राष्ट्रिय शक्ति भए पनि सत्ता चलाउन पुग्न आवश्यक मत नरहेकोले एमालेलाई एक्लै सरकार चलाउन सक्ने ठाउँमा पुर्याउनु पर्नेमा उहाँले जोड दिनुभयो । नेताहरूको टाउको जोडेर होइन, जनताको मन जोडेर पार्टीलाई बलियो बनाउनु पर्ने पोखरेलको धारणा छ ।








प्रतिक्रिया