४ असार २०८३, बिहिबार

गठबन्धन सरकारले देश र जनताको हितको पक्षमा कतै कुरा राख्न सक्दैन : राजन भट्टराई

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन। नेकपा (एमाले) विदेश विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले वर्तमान गठबन्धन सरकारले राष्ट्रिय हितको पक्षमा काम गर्न नसक्ने बताउनुभएको छ ।

नेकपा एमाले रामेछापको स्कुल विभागले आइतबार मन्थलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले वर्तमान सरकारले देश र जनताको हितमा काम गर्नु त परको कुरा बोल्न पनि नसक्ने स्पष्ट पार्नुभयो ।

गठबन्धन सरकारले नेपालको आधारभूत विदेश नीति माथि नै प्रश्न उठ्ने गरी काम गरेको उहाँको भनाइ छ । युक्रेन युद्धको सवालमा सरकारले अनावश्यक रूपमा एउटा मुलुकको पक्ष लिएर पञ्चशीलताको सिद्धान्त विपरीतको काम गरेको भट्टराईले टिप्पणी गर्नुभयो । ‘यो असन्तुलित परराष्ट्र नीति हो, यो हिसाबले नेपाल जान सक्दैन, हामी एकातिरको सैन्य गठबन्धनमा लाग्यौँ भने नेपालको सुरक्षा खतरामा पर्छ’, उहाँले भन्नुभयो ।

नेपालमा विदेशी हस्तक्षेप बढेको भन्दै भट्टराईले यो देश र जनताको लागि चिन्ताको विषय भएको उहाँको धारणा छ । विदेशी हस्तक्षेप विरुद्धको विषयमा जनतालाई सचेत पार्न आवश्यक रहेको उहाँले बताउनुभयो । ‘जबसम्म जनता सचेत र संगठित हुँदैनन् त्यो बेलासम्म वैदेशिक हस्तक्षेप रोक्न सकिँदैन’, उहाँले भन्नुभयो ।

नेपालले संविधान बनाउन लाग्दा भारतले त्यसलाई रोक्ने प्रयत्न गरेको स्मरण गराउँदै उहाँले त्यस पछि पनि नेपाललाई समृद्धिको बाटोमा अघि बढाइ रहेको बेला एमाले सरकारलाई फाल्न देश भित्रैकै शक्ति प्रयोग गरेर विदेशी शक्ति लागेको टिप्पणी गर्नुभयो । भारत लगायत विदेशी शक्तिले आफ्नो अनुकूलको काम एमाले नेतृत्वको सरकारबाट नहुने देखेपछि त्यो खेल खेलेका भट्टराईले बताउनुभयो ।

भारतले ठाउँ ठाउँमा नेपाली भूमि मिचेको बताउँदै भट्टराईले भारतले सुगौली सन्धि मान्नु पर्ने स्पष्ट पार्नुभयो । ‘सुगौली सन्धि अनुसार भारले कालापानीको सेना हटाउनुपर्छ, लिम्पियाधुरा, कालापानी र लिपुलेकको भूभाग भारतले नेपाललाई फिर्ता गर्नुपर्छ, त्यस्तै सुस्ता लगायतका क्षेत्रमा नेपालको मिचिएको सीमा छाडिदिनुपर्छ’, उहाँले भन्नुभयो ।

उहाँले भारतसँग भएको सन् ९५० को विभेदकारी सन्धिको पनि पुनरावलोकन हुनु पर्ने बताउनुभयो । भारत यस विषयमा छलफल गर्न पनि तयार नभएको भन्दै भट्टराईले आलोचना गर्नुभयो ।

भारत नेपालसँगको सीमा नियन्त्रण गर्ने कुरामा समेत तयार नरहेको उहाँले बताउनुभयो । सीमा नियन्त्रणमा एक रुपा ल्याउन नेपालले प्रयास गर्दा पनि भारत त्यसमा तयार नरहेको उहाँले स्पष्ट पार्नुभयो । भारतसँगको कृषि उपज, जलस्रोत, व्यापार, पारवहन लगायतका असमान विषयमा छलफल गर्नुपर्छ भन्दा एमाले माथि आक्रमण भएको भट्टराईले बताउनुभयो ।

एमाले सरकारमा हुँदा यी विषय उठाएको कारण भारतको वक्रदृष्टि परेको भट्टराईले बताउनुभयो । एमाले सरकारबाट हटेपछि यी सबै कुरा ओझेलमा परेका उहाँले टिप्पणी गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भारतसँग यी कुरा उठायो भने माहौल बिग्रन्छ भनेर आत्मसमर्पण गरेको भट्टराईले बताउनुभयो ।

भट्टराईले यी सबै कुरा जनतालाई बुझाउन आवश्यक रहेको बताउनुभयो । यी कुरा जनतालाई बुझाउन सके जनता एमालेको पक्षमा हुने र एमालेलाई कसैले पराजित गर्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो । ‘देशी विदेशी शक्तिबाट जुन खेल भइरहेको छ, त्यो जनतालाई बुझाउने कुरा आजको प्रमुख आवश्यकता हो’, उहाँले भन्नुभयो ।

कतिपय विदेशी मुलुकहरू नेपाल सम्पन्न होस् र समृद्ध होस् भन्ने पक्षमा नरहेको उहाँले बताउनुभयो । त्यसैले उनीहरू एमाले बलियो होस् भन्ने पक्षमा नरहेका भट्टराईको भनाइ छ ।