
काठमाडौं, ९ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनबाट एमालेलाई बदनाम गर्न खोजिएको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कमिटीको सातौं पूर्ण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा आफू र प्रधानमन्त्रीबीच भएका भेटवार्ताका बारेमा जानकारी गराउँदै बदनाम गर्ने कोशिस गरिएको बताउनुभयो ।
राष्ट्रिय सभा निर्वाचनमा एमालेले गठबन्धनसँग भागबण्डा खोज्यो भनी गलत प्रचार भएकामा अध्यक्ष ओलीले खण्डन गर्नुभएको हो । राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाऊँ भन्ने प्रस्ताव पहिले प्रधानमन्त्री प्रचण्डले राख्नुभएको र पछि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्तरूपमा राख्नुभएको जानकारी गराउँदै अध्यक्ष ओलीले एमालेले केही सिट दिनुपर्यो भनेर नमागेको र विल्कुलै गलत प्रचार गरिएको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले योजना सफल नहुने भएपछि साना र गठबन्धनमा रहेका अन्य दलले मानेनन् भनेर जवाफ दिएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी काम, सङ्क्रमणकालीन न्यायको समस्या अविलम्ब टुङ्ग्याउनुपर्छ भन्ने मान्यता एमालेको रहेको धारणा व्यक्त गर्नुभयो ।
सङ्क्रमणकालीन न्यायको विषय टुङ्ग्याउँदा पीडितलाई थप पीडा दिएर होइन न्याय दिएर, पीडित मैत्री कानुन बनाएर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।








प्रतिक्रिया