
काठमाडौं, ६ फागुन । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ ।
सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदमा डा। चण्डिकाप्रसाद भट्टलाई नियुक्त गर्ने, नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गर्ने लगायतका दशवटा निर्णय गरेको हो ।
यी हुन् निर्णयहरू–
१. डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गर्ने ग्राहकरुको विद्युत महशुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ समितिको म्याद एक महिना थप गर्ने।
२. सशस्त्र द्वन्द्वमा घाइते भइ अपांगता भएका व्यक्तिहरुको अपांगता प्रतिशत निर्धारुण तथा पुनरावलोकन कार्यविधि, २०७४ को अध्ययन गरी २ महिनाभित्र परिमार्जित मस्यौदा पेश गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने।
३. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानूनी स्थायी आवासीय अनुमति एलपीआर लिएको देखिएकाले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाउने।
४. राष्ट्रिय प्रशारण १२ औं संशोधन नियमावली, २०८० स्वीकृत गर्ने।
५. बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने।
६. प्रोवेशन तथा प्यारोलसम्बन्धी नीति, २०८० स्वीकृत गर्ने।
७. नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदमा डा. चण्डिकाप्रसाद भट्टलाई नियुक्त गर्ने।
८. नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गर्ने।
९. नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा। प्रमोद जोशीलाई नियुक्ति गर्ने।
१०. एनसेलको शेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने।








प्रतिक्रिया