
काठमाडौं, ६ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले महिला र पुरुषलाई समान हैसियतमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
विश्व सामाजिक फोरम : विश्व महिला सम्मेलनको सन्दर्भमा अखिल नेपाल महिला संघले आज आयोजना गरेको ‘उत्प्रेरित राजनीति : महिला प्रतिनिधि’ विषयक कार्यक्रमलाई राष्ट्रिय सभागृहमा सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले राजनीतिक सहभागिताले मात्र महिलाको सामाजिक स्तर माथि उठ्न नसक्ने बताउनुभएको हो ।
राजनीतिक सहभागिताको हिसाबले नेपालका महिला सहभागिता युरोपको भन्दा माथि उठेको भए पनि आर्थिक, सामाजिक क्षेत्रमा त्यो विकास हुन नसकेको उहाँको भनाइ छ ।
नेपालको मौलिक परम्परागत संस्कृतिमा जातिभेद र लिङ्ग भेद नभएको बताउनुहुँदै उहाँले तर जब ब्रह्मा, विष्णु, महेश्वरको नाममा पूजा गर्ने पितृ सत्ता सुरु भयो तब महिलाहरू माथि विभेद भएको टिप्पणी गर्नुभयो ।
नयाँ विश्वको परिकल्पना गर्दा धनी राष्ट्रका पक्षको विश्व व्यवस्था मानव अधिकार मैत्री नरहेको उहाँले बताउनुभयो । मानव अधिकार संस्थाहरू नै धनी राष्ट्रको छाया बन्दै गएका महासचिव पोखरेलको धारणा छ ।








प्रतिक्रिया