१३ असार २०८३, शनिबार

सामाजिक न्यायसहितको समाजवाद स्थापना गर्न कम्युनिष्ट पार्टीको स्थापना : पद्मा अर्याल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २४ माघ । नेकपा (एमाले) केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले नेपालका राजनीतिक पार्टीहरुको तुलनात्मक अध्ययनमा प्रशिक्षण दिँदै नेकपाको जन्म सुगौली सन्धिदेखि दमित राष्ट्रिय स्वाभिमानलाई माथि उठाउँदै राष्ट्रिय स्वाधिनताका लागि, सामन्तवादलाई जरैदेखि उन्मुलन गरेर जनवादी व्यवस्था स्थापना गर्नका लागि र सामाजिक न्याय, समानता र समृद्धिसहितको समाजवाद स्थापनासहित तीन वटा अभिभारा पूरा गर्नका लागि भएको बताउनुभएको छ ।

एमाले रुपन्देहीद्वारा सञ्चालित प्रशिक्षण कार्यक्रमको दोश्रो दिन प्रशिक्षणमूलक मन्तव्य व्यक्त गर्दै अर्यालले दक्षिणपन्थी, वामपन्थी र पश्चगामी गरी ३ खालका पार्टीहरु रहेको प्रसंग उल्लेख गर्दै सबै पार्टीहरुको वर्ग चरित्र, नेकपा (एमाले) र उनीहरुकाबीच रहेको भिन्नता तथा पार्टीले समाजवादी कार्यक्रम कसरी सञ्चालन गर्छ भन्नेबारेमा विभिन्न सन्दर्भ सहित व्याख्या गर्नुभयो ।

सरकारमा रहँदा गरिएका समाजवादउन्मुख कार्यक्रमको चिरफार गर्दै उहाँले विदेशी शक्तिका कारण पार्टीलाई सत्ताबाट हटाइएको विषयमा विस्तृत व्याख्यान दिनुभयो ।

पार्टीका पोलिटब्युरो सदस्य तथा रुपन्देही इन्चार्ज दलबहादुर रानाले सबैको समान क्षमता नहुने भएकोले रुचि, इच्छा र क्षमता अनुसार विषयमा दक्षता प्राप्त गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।

प्रशिक्षण पश्चात् पार्टी विस्तार र सुदृढीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै गत चुनावमा गिरेको शाख फर्काउन सक्ने क्षमता विकास हुन सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो । अबका दिनमा गाउँ कमिटी र वडा कमिटीलाई सतर्कतासहित आर्थिक विषयमा बलियो वनाउने गरी नीति वनाउन आग्रह गर्दै रानाले मौलिक तरिकाले समाजवादमा कसरी पुग्न सकिन्छ भनेर पाठ्यक्रममा समावेश हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पार्टीलाई पूर्णकालिन कार्यकर्ता चाहिन्छ भने तिनको व्यवस्थापन कसरी हुन्छ ? चाहिदैँन भने पेशा व्यवसाय गरेर बँचेको समयमा पार्टी नेतृत्व गर्नेले समाजवादमा पुग्न सकिन्छ कि सकिदैँन भन्ने प्रश्न गर्दै यसको जवाफ आफै खोज्न र तदनुसारको कदम चाल्न निर्देशन दिनुभयो ।

यसअघि पार्टी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका स्कुल विभाग संयोजक लक्ष्मण ज्ञवालीले पार्टी संगठन व्यवस्थापनवारे प्रशिक्षण दिनुभयो । उहाँले जनसंगठन र पार्टीबीचको भिन्नता, लेनिनवादी संगठनात्मक शैली, संगठनात्मक व्यवस्थापनका तीन पक्ष, मानव जीवन र संगठनका बीचमा रहेको भिन्नता, परिवर्तित अवस्थामा वर्ग संघर्षको स्वरुप, जनआधारित पार्टी नेकपा९एमाले०का विशेषता लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइरालाले प्रशिक्षण व्यवस्थापन, प्रस्तुति सिप, शैली र कला विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यस अवसरमा कोइरालाले कार्यकर्ता, नागरिक र नेताकावीचमा हुनुपर्ने सम्बन्धकाबारेमा प्रकाश पार्दै विषयगत ज्ञान कसरी प्रस्तुत गर्दा मानिसले ग्रहण गर्न सक्छन् भन्नेबारेमा छलफल चलाउनुभयो ।

दोश्रो दिन रुपन्देही पार्टी अध्यक्ष तेजेन्द्र केसीले जिल्लाको इतिहास लेखन भइरहेकोले आवश्यक सुझाव दिन आग्रह गर्नुभयो भने जिल्ला स्कुल विभाग प्रमुख युवराज घिमिरेले कसरी र किन स्कुल आवश्यक छ भन्नेबारेमा जानकारी गराउनुभएको थियो ।