
काठमाडौं, १७ माघ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निराशा, आक्रोश, उत्तेजना बढाउने र दोष अरूमाथि थोपर्ने गरेर देश नबन्ने बताउनुभएको छ ।
सबैको सकारात्मक प्रयासबाट मात्र देश बन्ने ओलीको धारणा छ । ‘निराशा, आक्रोश, उत्तेजना बढाउने र दोष अरूमाथि थोपर्ने गरेर हुँदैन, हामीले के सकारात्मक प्रयास गर्छौँ, राष्ट्रिय आत्मविश्वास कसरी जगाउँछौँ, त्यसमा भर पर्छ’, अध्यक्ष ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भन्नुभएको छ ।
व्यक्ति–व्यक्तिको आत्मविश्वासबाट राष्ट्रिय आत्मविश्वास सिर्जना हुने उहाँले प्रष्ट पार्नुभएको छ । ‘हामीले राष्ट्रिय आत्मविश्वास जगाउनुपर्छ’, ओलीले भन्नुभएको छ ।
देश किन बनेन भन्ने प्रश्नमा मात्र सीमित रहेर देश नबन्ने उहाँले स्पष्ट पार्नुभएको छ । अध्यक्ष ओलीले देश बनाउन राष्ट्रिय आत्मविश्वासका साथ काम गर्नुपर्ने उल्लेख गर्नुभएको छ । ‘हामी हरेक दिन देश किन बनेन भन्ने प्रश्नमै सीमित हुन्छौँ, देश बनाउन राष्ट्रिय आत्मविश्वासको आवश्यकता छ’, ओलीले लेख्नु भएको छ ।
देशमा अहिले काम गर्ने सक्रिय उमेरेको ६० प्रतिशत जनशक्ति भएकोले देश बनाउने उचित समय यही भएको उहाँले उल्लेख गर्नुभएको छ । ‘देशमा अहिले काम गर्न सक्रिय उमेर समूहको जनसंख्या ६० प्रतिशत भएकाले देश बनाउने बेला यही हो, सक्रिय उमेर समूहलाई देश निर्माणमा लगाउन नसके ज्येष्ठ नागरिक संख्या बढी भएको, काम गर्नेभन्दा आश्रित भएर खानेको, उत्पादन गर्नेभन्दा उत्पादन खपत गर्ने बढी जनसंख्या भएको देश हुन्छ, राष्ट्रको आत्मविश्वास निर्माणमा हामी हरेकले लाग्नु पर्ने आवश्यकता छ ।’ अध्यक्ष ओलीले भन्नुभएको छ ।








प्रतिक्रिया