
रौतहट, १७ माघ । रौतहट प्रहरीका प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले यस आर्थिक वर्षको ६ महिनाको अवधिमा झण्डै ३ करोड रुपैयाँ मूल्य बराबरको अवैध सामान, मालसामान ढुवानी गर्ने दर्जनौं सवारी साधन नियन्त्रणमा लिएको बताउनुभएको छ ।
विगत वर्षको तुलनामा जिल्लामा तस्करीदेखि आपराधिक गतिविधि समेत न्यून भएको एसपी श्रेष्ठले दाबी गर्नुभएको छ। गत साउनदेखि पुस मसान्तसम्म जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटहरुले तस्करीको माध्यमबाट भारत बाट अवैध रुपमा भित्रीएको दुई करोड ९५ लाख ३१ हजार ३३१ मूल्य बराबरको मालसामान बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा दाखिला गरिएको जिल्ला प्रहरी प्रमुख एसपी श्रेष्ठले बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलवार एक सूचना जारी गर्दै पछिल्लो ६ महिनाको प्रगती विवरण सार्वजनिक गरेको छ । नक्कली नेपाली नोटको मुद्दामा प्रहरीले दुई महिना सम्म सुक्ष्म अुनसन्धान गरी ४ वटा मुद्दा दर्ता गरिएको, ९ जनालाई नियन्त्रणमा लिएर १८ लाख ७० हजार चार सय नक्कली नोट बरामद गरिएको जनाएको छ ।
अनलाईन स्क्यान गर्ने मामिलामा तिनजना मानिसलाई पक्राउ गरी २४ लाख ३७ हजार ८६५ रुपैयाँ पीडितलाई फिर्ता गराएको, फिरौती माग गर्ने १ जनालाई पक्राउ गरी मुद्दा चलाइएको, ५०८ विभिन्न मुद्दा दर्ता भएको, जसमा २९० मुद्दा फर्छयौट भईसकेको २१८ मुद्दा अनुसन्धानको क्रममा रहेको जसमा ३४३ मानिसलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
अदालतबाट कसुर ठहर भई फरार रहेका २६९ प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरिएको छ । उक्त प्रतिवादी बाट ४४ बर्ष २ महिना १५ दिन कैद असुली कार्वान्यन तथा १२ लाख ५ हजार ७१२ रुपैया राजस्व असुली गराइएको सूचनामा उल्लेख छ ।
६ महिनाको अवधिमा कर्तव्य ज्यान सम्बन्धी ९ वटा मुद्दा दर्ता गरिएकोमा ४ वटा मुद्दा फर्छयौट भइसकेको र ५ वटा मुद्दाको अनुसन्धान जारी रहेको छ । उक्त मुद्दामा ९ जना मानिसलाई समातेर जिल्ला अदालत समक्ष पेश गरिएको जनाइएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी तर्फ ३९ वटा मुद्दा दर्ता भएकोमा २७ वटा मुद्दा फर्छयौट भइसकेको र १२ वटा मुद्दाको अनुसन्धान जारी रहेको छ ।
सवारी ज्यान मुद्दा अन्तर्गत रौतहटमा २४ वटा मुद्दा दर्ता भएको १८ फर्छयौट भइसकेको र ६ वटाको अनुसन्धान जारी रहेका छन् । लागुऔषध तर्फ ११ वटा मुद्दा दर्ता गरिएको जसमध्ये ९ वटा फर्छयौट भईसकेको २ मुद्दाको अनुसन्धान भईरहेको तथा १५ जना मानिसलाई पक्राउ गरिएको सूचनामा उल्लेख गरिएको छ ।
विद्युतिय कारोबार साइवर अपराध तर्फ ५ वटा मुद्दा दर्ता भएकोमा सवैको फर्छयौट भइसकेको छ । चोरीडाँका तर्फ ३४ मुद्दा दर्ता गरिएको ३३ वटाको फर्छयौट भई १ वटा मुद्दाको अनुसन्धान भइरहेको छ । उक्त मुद्दामा ५० जना मानिसलाई पक्राउ गरिएको थियो ।
त्यसैगरी जिल्ला स्थित मुद्दा चलाउने अख्तियारी रहेको जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रपुर र इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियामा रहेका हिरासत कक्षमा थुनवाहरुको मानसिक अवस्थामा परिवर्तन गर्न पुस्तकालयको स्थापना गरिएको पनि सूचनामा उल्लेख गरिएको छ ।
एसपी श्रेष्ठले जिल्लाको कमाण्ड लिएपछि विगतको तुलनामा रौतहटमा तस्करीदेखि विभिन्न किसिमका आपराधिक क्रियाकलापमा समेत कमी आएको प्रवक्ता तथा डिएसपी एलिजा गिरीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।








प्रतिक्रिया