
काठमाडौं, ११ मंसि । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमिल्सना चालिसेको छोरालाई नि:शुल्क पढाइदिने भएका छन् ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा फैलिएको कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं ९ राम्चेकी सुत्केरी महिला चालिसेको छोरालाई मन्त्री बस्नेतले आफ्नै निजी खर्चमा नि:शुल्क पढाइदिने घोषणा गरेका हुन् । विस २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनको मात्र थिए ।
अहिले तीन वर्ष नाघेसँगै मन्त्री बस्नेतले सोमबार काठमाडौँको टोखा नगरपालिका वडा नं ९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका हुन् । उनले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरे ।
रकम हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाई खर्च आफूले बेहोर्ने बताए । मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा नि:शुल्क हुनुपर्ने धारणा राखे ।
मन्त्री बस्नेतले कोरोनाको समयमा नेपाल सरकारले अक्सिजन सिलिण्डर ल्याउन नसक्दा आफूले चीनबाट ल्याएर नि:शुल्क बाँडेको समेत उनले स्मरण गरे ।















प्रतिक्रिया