शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पहिले फुटपाथ व्यापारी, अहिले ‘चेन होटल’का मालिक

दैनिक नेपाल २०८० जेठ २३ गते ६:५८

काठमाडौं, २३ जेठ । ‘माग्ने बूढा’ भन्नेबित्तिकै माकल टोपी, थोते दाँत र झुक्रेझाम्रे आकृति आँखामा नाच्न थाल्छ । यो त भयो ‘मेरी बास्सै’को एक प्रमुख पात्र । यही ‘पात्र’ केदार घिमिरेमा ‘कन्भर्ट’ गर्ने हो अहिले हाम्रो अघिल्तिर ‘चेन होटल’का मालिक कुरा गरिरहेका छन् ।

२०५० सालमा मकवानपुर ठिंगनबाट काठमाडौं छिरेका ‘माग्ने बूढा’ अर्थात् केदार घिमिरेको सपना वकिल बन्न थियो । तर, कलाकार हुँदै अहिले उनी ‘ए वान होटल’ समूहका मालिकमध्ये एक बनेका छन् । कुनै ताका काठमाडौंमा फुटपाथ गरेका केदारले २१ वटा चेन क्याफे, पार्टी भेन्यु (ब्यांक्वेट) र होटलसहितको ‘ए वान क्याफे एन्ड पार्टी भेन्यु’ तथा ‘ए वान होटल’ समूहअन्तर्गत करोडौंको लगानीका ‘मालिक बनिएला’ भन्ने सायदै सोचेका थिए । अभिनयबाट फुर्सद हुँदा केदार होटल व्यवसायमै व्यस्त हुन्छन् ।

यसरी सुरु भयो संघर्ष
कानुन पढ्न काठमाडौं छिरेका उनले नेपाल ल क्याम्पसमा भर्ना हुन भने पाएनन् । ताहचल वारिपट्टीको काठमाडौं बहुमुखी क्याम्पसमा आईएल भर्ना हुन पुगेका केदार काठमाडौं आउने क्रममा गाउँको घरमा आलगानी भयो । सारा सम्पत्ति आगोसँगै नष्ट भयो । त्यसपछि सुरु हुन्छ, काठमाडौंमा संघर्षका दिनहरू ।

काठमाडौंमा दाइसँग बसेका केदार सुरुमा चाइनिज कन्ट्रक्सन कम्पनीमा ‘लेबर’ थिए । मेसिनबाट अलकत्रा (बिटुमिन) पोल्ने रात्रिकालीन काम पाएका थिए, उनले । ‘लेबरको केही कमाइबाट ऐना, काइँयो, क्रिम, जुत्ताको पलिस, ब्रस, नेलकटर, रुमाल, लिपिस्टिक, पर्स, मोजालगायत किन्थें,’ संघर्षका पल सम्झिन थाल्छन्, केदार, ‘विभिन्न कस्मेटिक सामग्री बेच्ने फुटपाथको पसल ललितपुर लगनखेल चोकमा सुरु गरें । रातभर काम गरेर बिहानै कलेज जान्थें र बिहान ९ः३० मा क्लास छुटेपछि महाबौद्धको होलसेलबाट साइकलमा सामान बोकेर लगानखेल पुग्थें ।’

उनको अनुपस्थितिमा बिहान १० बजेसम्म दाइ फुटपाथ पसल सम्हाल्थे । केदार थप सामान लिएर आएपछि उनका दाइ घरमा रङ लगाउने काम गर्न जान्थे । दिनभर फुटपाथ व्यापारमा रम्थे उनी । कोठामा नुहाउन र लुगा फेर्न मात्रै पुग्थे ।

‘साँझ पाँच बजेतिर फुटपाथ पसल बन्द गरेपछि १ घण्टा अंग्रेजी भाषाको कोचिङ लिन्थें, त्यसपछि दुई/तीन घण्टासम्म ट्युसन पढाउन जान्थें,’ केदार सुनाउँछन्, ‘ट्युसन सकेपछि खाना खाएर फेरि रात्रिकालीन जागिर सुरु हुन्थ्यो । २४ घण्टे ड्युटी ६/७ महिनासम्मै चल्यो ।’

निद्रा नपुगेर समस्या
बिहान कलेज, दिउँसो फुटपाथ व्यापार र रातभर लेबरको काम । २४ घण्टै कामको चापले केदार सुत्नै पाउँदैनथे । निन्द्रामा समस्या हुन थाल्यो । रातको मजदुरी छोड्न बाध्य भए । बिहानको कक्षा सकेर उनी दिनभर फुटपाथ व्यापार र ट्युसन पढाउनतिर व्यस्तिन थाले । व्यापारमा मसला ‘आइटम’ थपे । पहिलो दिन २ सय ५० रुपैयाँ कमाएका उनको आम्दानी ३ हजारसम्म पुग्यो ।

विक्रम टेम्पोका मालिक
आम्दानी राम्रै हुँदै गर्दा नगरपालिकाले फुटपाथबाट व्यापार हटाउने घोषणा ग¥यो । केदारले दाइसँग मिलेर किस्तामा तीनवटा ‘डल्ले विक्रम टेम्पो’ किने । उनी फुटपाथ व्यापारीबाट टेम्पो व्यवसायी तथा सञ्चालक भए । व्यापारले यति गाँज्यो कि केदारले पढाइलाई समय नै दिन सकेनन् । आईएल दोस्रो वर्षको परीक्षामा उनी ‘फेल’ भए । ‘त्यसपछि कलेजको पढाइ अघि बढाउन सकिनँ,’ उनी सम्झिन्छन् ।

फेरि अर्को झट्का
‘वातावरण अत्यधिक प्रदूषण गरेको’ भन्दै सरकारले काठमाडौं उपत्यकाबाट विक्रम टेम्पो हटाउने घोषणा ग¥यो । त्यसपछि आधा घाटा खाएरै भए पनि उनी सबै टेम्पो बेच्न बाध्य भए । एकातिर पढाइ छाडिसकेका थिए भने कलाकारितामा लाग्ने ‘लक्षण’ नै थिएन ।

जीवनको ‘टर्निङ प्वाइन्ट’
सटर भाडामा लिएर पसल चलाउँदा फुटपाथमा झैं लखेटिनुनपर्ने सोचेपछि केदारले कलंकी ढुंगेअड्डा मुख्य सडकछेउमै सटर लिएर व्यापार सुरु गरे । यतिबेलासम्म विवाह गरिसकेका केदार रेडियो, क्यासेट प्लेयरलगायत इलेक्ट्रिक सामग्री बेच्थे । व्यापार निकै फस्टायो ।

इलेक्ट्रिक पसल सञ्चालनकै क्रममा एचबीसी एफएमकी प्रस्तोता सुमित्रा खड्कासँग केदारको परिचय भयो । ७ कक्षादेखि नै कविता लेख्न थालेका केदारले सुमित्रामार्फत रेडियोमा कविता वाचन गर्ने अवसर पाए । एचबीसी एफएममै रेडियो नाटक, कविता र रेडियो नाटकसँगै हास्यव्यंग्य कार्यक्रम ‘काउसो’ चलाउने अवसर पाए, केदारले ।

उनले ‘काउसो’को हरेक शृंखलामा हास्य कलाकारका अन्तर्वार्ता लिन सुरु गरे । त्यस क्रममै केदारले सन्तोष पन्त, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, दमन रुपाखेतीलगायतसँग चिन्ने अवसर पाए ।

त्यतिबेला ‘हिजोआजको कुरा’ खुब लोकप्रिय थियो । लामो संघर्षपछि केदार ‘हिजो आजको कुरा’का लागि सनातिना भूमिकाका लागि छानिए । उनले त्यहीबेला महसुस गरे, ‘ठूलो भूमिकाका लागि अभिनय सिक्नुपर्ने रहेछ ।’

कमलादीस्थित नेपाल आर्ट तथा डान्स सेन्टरमा केही समय अभिनय सिकेका उनी ‘हिजो आजका कुरा’ हुँदै ‘जिरे खुर्सानी’ र ‘मेरी बास्सै’सम्म पुग्दा केदार सबैका ‘प्रिय’ भइसकेका थिए । फुटपाथबाट ‘करिअर’ थालेका केदारले पसलकै कमाइले ललितपुरमा जग्गा किने र घर बनाए । उनी पत्नीलाई पसल सुम्पेर कलाकार बन्न होमिएका थिए ।

एकपछि अर्को निराशा
नेपाल टेलिभिजनमा मोहन मिश्रको हास्यप्रधान टेलिशृंखला ‘हत्तेरिका’ बन्द भइसकेको थियो । केदारले इमेज च्यानलमा ‘आम्मै’ नामक हास्यप्रधान शृंखला सुरु गर्दा त्यसको ‘स्क्रिप्ट’ लेख्ने र अभिनयसमेत गर्ने अवसर पाए ।

जब उनले ‘स्क्रिप्ट’ लेखेर अभिनय गरेको शृंखला तयार भयो, त्यस क्रममा इमेजबाट ‘आम्मै’ बन्द भयो र प्रसारण हुन सकेन । सोही शृंखलामा उनले ‘माग्ने’को चरित्र निर्वाह गरेका थिए । त्यतिबेला ‘जिरेखुर्सानी’बाट छुटेका दमन रुपाखेतीले ‘ढिकीच्याउँ’ बनाए । यसमा केदारसँगै सीताराम कट्टेल ‘धुर्मुस’ले ‘स्क्रिप्ट’ लेख्ने र मुख्य भूमिका गर्ने अवसर पाए । सो शृंखलामा केदार ‘माग्ने’कै भूमिकामा थिए । तर ‘ढिकीच्याउँ’ पनि प्रसारण भएन ।

आर्थिक संकट
खाजा खान र मोटरसाइकलमा पेट्रोल हाल्न श्रीमतीसँग दैनिक २ सय रुपैयाँ मागेर कलाकार बन्ने संघर्षमा हिड्न थाले, केदार । एकातर्फ भनेजस्तो भूमिका नपाउने र अर्कोतिर पारिश्रमिक पाउनै कठिन ।

फेरि ‘सडक बढाउन’ भन्द्र सडक विभागले पसल खुम्च्याउन थालेको थियो । सडकको धुलोले गर्दा व्यापारसमेत घट्न थाल्यो । यही कारण केदार विस्तारै आर्थिक समस्यामा पर्दै गए । टिभीबाट सिरियल पनि आउन सकेका थिएनन् ।

यही समय ‘मेरीबास्सै’बाट केदार र सीतारामलाई ‘स्क्रिप्ट’ लेखनसँगै अभिनयको प्रस्ताव आयो । यसमा पनि केदारले ‘माग्नेबूढा’को भूमिका गर्ने अवसर पाए । यतिबेलासम्म उनको पसल सडक विभागले भत्काइसकेको थियो ।

‘त्यतिबेला करिब २० फिट लामो सटरको दुई कोठा लिएकाले बाहिरको कोठामा व्यापार व्यवसाय र भित्री कोठामा बस्ने गरेका थियौं,’ केदार भन्छन्, ‘कलंकी थानकोट सडक बढाउने क्रममा पटकपटक सडकले जग्गा अधिकरण गर्दा पलसको जग्गा अधिग्रहण हुँदा मेरो २० फिटको पसल र हामी बसेको कोठासमेत काटिएर पान पसलको घुम्टीसमेत राख्न नमिल्ने निकै सानो हुन गयो ।’

त्यो समय श्रीमती गर्भवती थिइन् । धुलोमा पसल चलाएर बस्न गाह्रो भयो । ६ महिनासम्म बन्द पसलको भाडा तिरेर सबै सामान फिर्ता गरेर व्यापार छाडन बाध्य भए, केदार । व्यापारबाट टाढिँदै गर्दा उनी ‘मेरी बास्सै’मा स्थापित हुँदै थिए ।

‘मेरी बास्सै’बाट नयाँ जीवन
‘मेरी बास्सै’ जनमानसमा भिज्न थाल्यो । यसपछि केदारको समग्र जीवनमै नयाँ मोड आयो । कमाइ राम्रो हुँदै गयो । देश–विदेशबाट ‘स्टेज सो’का लागि एकपछि अर्को ‘अफर’ आउन थाले । यहीबेला काठमाडौं कलंकी डेराबाट ललितपुर इमाडोल सरेका केदारले त्यहीँ घर बनाए । ‘मेरीबास्सै हिट भएपछि स्टेजको कमाइ, पहिलाको केही पैसा र बैंकबाट केही ऋण लिएर घर जोड्न सफल भएँ,’ उनी अतीत सम्झिँदै भने ।

‘मेरी बास्सै’कै कारण ठूला पर्दाको ‘६ एकान ६’बाट केदार झनै चुलीमा पुगे । उनको मुख्य भूमिका भएको दीपकराज गिरी, दीपाश्री निरौलाको अर्को चलचित्र ‘वडा नम्बर ६’ पनि हिट भयो । त्यतिबेला धुमुर्स र माग्ने बूढा अर्थात् सीताराम–केदार हिट थिए । त्यसपछि निर्माताकै रूपमा ‘छक्का पञ्जा’मा केदार जोडिन पुगे ।

व्यापारिक जीवन फर्कियो
लामो समय व्यापार गरेका केदार फेरि व्यापारमै फर्किने योजनामा थिए । तर, २०७२ सालको विनासकारी भूकम्प र त्यसपछिको नाकाबन्दीले चलचित्र उद्योग ठप्पै थियो । मुलुकको अर्थतन्त्र ओरालो लाग्यो । फिल्म तथा मनोरञ्जनका गतिविधि नहुँदा उनले लामो समय खाली बस्नुप¥यो । सीताराम कट्टेल (धुर्मुस)सँग पनि जोडी टुटिसकेको थियो । धुमुर्सले भूकम्पपीडितलाई घर बनाउँदै मुसरबस्ती बनाउने सामाजिक अभियान अघि बढाइसकेका थिए ।

‘छक्का पञ्जा’को चार शृंखलामा निर्माता भइसकेका केदारको भेट ‘छक्का पञ्जा’ निर्माणकै क्रममा ‘ए वान क्याफे एन्ड पार्टी भेन्यु’ तथा ‘ए वान होटल’ समूहका सञ्चालकसँग हुन्छ । ‘२०७४ अन्तिमबाट उहाँहरूसँग समूहमा जोडिएँ,’ केदार भन्छन्, ‘हामीले सुरुमा ए वान क्याफेबाट व्यापार सुरु ग¥यौं, त्यसपछि क्याफेसँगै ए वान ब्यांक्वेट अनि ए वान होटल नै सुरु ग¥यो ।’

अहिले ‘ए वान समूह’को काठमाडौं उपत्यकामा २१ वटा क्याफे, ब्यांक्वेट र होटल छन् । २१औं पार्टी भेन्यु काठमाडौं सरस्वतीनगरमा पाँच रोपनी जग्गामा सञ्चालनमा आएको छ । जसमा दुई ब्यांक्वेट र एक रेस्टुरेन्ट छन् ।

२१ मध्ये काठमाडौं शंखमूलस्थित ए वान क्याफे, पार्टी भेन्यु तथा होटलको जिम्मेवारी केदारको भागमा परेको छ । उनी अहिले शंखमूल, गौरीघाट ए वान, टीकाथली ए वान, सरस्वती नगर ‘ए वानसहित कम्पनीका चारवटा ‘ए वान पार्टी भेन्यु (ब्यांक्वेट), होटल तथा क्याफेमा आबद्ध छन् ।

एकातर्फ ए वानको व्यापार र शाखा विस्तार क्रम त बढेको छ नै, केदार केही वर्षभित्रै पर्यटन क्षेत्रलक्षित काठमाडौं आसपास र बाहिर सुविधासम्पन्न रिसोर्ट खोल्ने तयारीमा पनि छन् ।

‘उमेर र स्वास्थले साथ दिँदामात्र काम पाइने कलाकारिता पेसा नेपालमा दिगो नभएकाले होटल, फुड तथा हस्पिटालिटी व्यवसाय सुरु गरेको हुँ,’ उनी बृहत् योजना सुनाउँछन्, ‘अब यो व्यवसायलाई अन्तर्राष्ट्रियस्तरको रिसोर्टका रूपमा अघि बढाउने तयारीमा छु ।’

व्यापार नै अपार
अबको समय केदारल कलाकारितासँगै होटल व्यवसायमा समय दिने छन् । फुटपाथबाट सुरु व्यापार उनी छाड्ने पक्षमा छैनन् । ‘कलाकारिता त आकाशे खेती हो । कमाइ व्यापारमा हुने भएकाले यसबाटै अपार हुन सकिन्छ,’ उनले थपे, ‘होटल तथा क्याफे व्यवसायसँगै सेयर कारोबारमा सक्रिय छु ।’

त्यसो त, भावी समय चलचित्र निर्मातासँगै निर्देशनमा पनि लाग्ने योजनामा छन्, केदार । ‘सबै व्यवसायमा सफल हुँदैनन्, सफल व्यवसायी हुन इमानदारिता, दूरदर्शिता, धैर्यता, आत्मविश्वास, सकारात्मक सोच, स्पष्ट दृष्टिकोण र समयअनुसार लगानी गर्ने आँट हुनुपर्छ,’ केदारले ‘व्यापारिक टिप्स’ दिँदै कुराकानी बिट मारे । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित