२८ आश्विन २०८३, बुधबार

‘कालापानी, लिपुलेक र लिम्पियाधुरासँग साटफेर गर्ने भन्ने अभिव्यक्तिको आशय के हो ?’

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एव परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ईपीजीको प्रतिवेदनमा भएका सहमतिविपरीत भारतसँग किन वार्ता र छलफल गरेको भनी प्रश्न गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको चार दिने भारत भ्रमणबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रतिवेदनमा भएका सहमतिविपरीत गरिएको भेटवार्ता र छलफलको विषयमा जवाफ समेत माग गरेका छन् ।

नेपालले सन् १९९७ देखि नै भारतको सहमतिमा काँकडभिट्टा फूलबारी मार्गको सुविधा लिँदै आएकोमा अहिले आएर कालापानी, लिपुलेक र लिम्पियाधुरसँग साटफेर गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको आशय के हो भन्दै भट्टराईले जवाफ माग गरेका हुन् ।

भट्टराईले ईपीजीको प्रतिवेदनले सन् १९५० को भेदभावपूर्ण र अपमानजनक सन्धिलाई पुनरावलोकन गरी पारस्परिक समानतामा आधारित बनाउन विकल्पसहित सर्वसम्मत रुपमा सिफारिस गरेको स्मरण गराएका छन् ।

यस्तो छ, उनको धारणा–

छिमेकी मित्र राष्ट्र भारतको भ्रमणको सम्पन्न गर्नुभएका प्रधानमन्त्रीले जबाफ दिन पर्‍यो :–

– ईपीजीको प्रतिवेदनले सन् १९५० को भेदभावपूर्ण र अपमानजनक सन्धिलाई पुनरावलोकन गरी पारस्परिक समानतामा आधारित बनाउन विकल्प सहित सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

– प्रतिवेदनले नेपाल भारत सीमा विवादको वार्ताद्वारा समाधान गरी सीमाको समग्र व्यवस्थापनका लागि विकल्पसहितको सुझाव दिएको छ ।

– प्रतिवेदनमा नेपालको जलश्रोतको बहुपक्षीय उपयोग र विगतमा भारतसँग गरिएका सन्धिहरुमा भएका कमिहरुको समीक्षासहित आगामी नीति कस्तो हुनुपर्छ भनेर ठोस सुझावहरू दिएको छ ।

– नेपाल भारतको व्दिपक्षीय ब्यापार सन्धीमा रहेका कमी र पारवहन सन्धिलाई समयानुकूल बनाउन पर्ने विकल्प सहितको अन्य सांस्कृतिक र सामाजिक क्षेत्रका सम्वन्ध विस्तारमा सुझाव समेटेको छ प्रतिवेदनले ।

सम्माननीय प्रमज्यू,

के उल्लेखित विषयहरुमा नेपाल भारतका बस्च वार्ता हुनुपर्ने होइन ? तिनै विषय समेटेर सबै ८ जना सदस्यहरूले सहमतिमा हस्ताक्षर गरेको प्रतिवेदनका विषयमा कुरा उठाउँदा किन र कसरी वातावरण बिग्रन्छ भन्ने ठान्नुहुन्छ ? यो तपाई आफैंले निकालेको निष्कर्ष हो ?

– अर्को कुरा नेपालले सन् १९९७ बाट नै भारतको सहमतिमा काँकडभिट्टा फूलवारी मार्गको सुविधा लीदै आएकोमा अहिले आएर कालापानी, लिपुलेक र लिम्पियाधुरसँग साटफेर गर्ने भन्ने तपाईको अभिव्यक्तिको आशय के हो ?

तपाईको ‘ऐतिहासिक’ भारत भ्रमणबाट फर्किरहँदा यी विषयहरुको नेपाली जनतालाई चित्त बुझ्दो जवाफसहित आउनुहोला । अन्यथा मुलुकको हितसँग जोडिएका अति संवेदनशील र गम्भीर विषयमाथिको तपाईको गैरजिम्मेदारपूर्ण र विरोधाभाषपूर्ण अभिव्यक्तिको तपाइँ आफै जवाफदेही बन्नैपर्छ ।