
काठमाडौं, १७ जेठ । राप्रपा नेपालले तत्कालीन राष्ट्रपति विद्या भण्डारीले राष्ट्रहितविपरीत ठहर गरी रोकेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।
सहज र सरल ढंगबाट नागरिकता प्रमाणपत्र पाउनु प्रत्येक नेपाली नागरिकको नैसर्गिक अधिकार भएकोप्रति राप्रपा नेपाल सचेत रहेको जनाउँदै गैरनेपालीलाई नागरिकता दिनेगरी विधेयक प्रमाणीकरण हुनु दु:खद र दुर्भाग्यपूर्ण भएको बताएको छ ।
पार्टीले आज बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अझै पनि धेरै ठूलो संख्यामा नेपालीहरु, खासगरी जन्मशिद्ध नागरिकका सन्तानले नागरिकता प्रमाणपत्र नपाएकोप्रति राप्रपा नेपाल चिन्तित छ । उनीहरुले नागरिकता प्रमाणपत्र पाउनुपर्छ भन्ने राप्रपा नेपालको स्पष्ट धारणा छ । तर, कुनै पनि बहानामा गैरनेपालीले नागरिकता पाउनु हुँदैन र पाउनेगरी कानुन बनाउनु हुँदैन ।’
नेपाल जस्तो संवेदनशील भूराजनीतिक परिवेश भएको तथा छिमेकीसँग खुला सिमाना र बेरोकटोक आवागमनको सुविधा भएको देशले नागरिकता प्रमाणपत्र वितरणमा सदैव सजग रहनुपर्ने धारणा राप्रपाको छ ।
‘तत्कालीन राष्ट्रपति भण्डारीले वैवाहिक अंगीकृत नागरिकतालगायत राष्ट्रहितका विभिन्न प्रश्नहरु उठाएर विधेयक रोकेकी थिइन् । त्यसबारे त्यस बेलाको संसद र सरकारले कुनै ध्यान दिएन । अन्तत: राष्ट्रपतिले अस्वीकार गरेपश्चात् सो विधेयक स्वत: निष्क्रिय भइसकेको छ,’ राप्रपाले भनेको छ ।
अहिले नयाँ चुनावबाट नयाँ जनादेश प्राप्त संसद आएको अवस्थामा राष्ट्रपति पौडेलले ९ महिनाअघि निष्क्रिय भइसकेको विधेयक प्रमाणिकरण गर्नु जनादेश र संविधानविपरीत रहेको बताउँदै राप्रपाले अगाडि भनेको छ, ‘भारतीय नागरिकले नेपाली चेली विवाह गरेर लैजाँदा उनले भारतको नागरिकता पाउन ७ वर्ष कुर्नुपर्छ । राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गरेको विधेयक लागू भएपछि नेपाली नागरिकले विवाह गरेको भारतीय महिलाले विवाहकै दिन नागरिकता पाउने छिन्, सांसद, मन्त्री हुन पाउँछिन् । त्यसर्थ, यो व्यवस्था तत्काल खारेज हुनुपर्छ ।’
नागरिकता प्रमाणपत्र कागजको खोस्टो नभएको बताउँदै राप्रपाले कुनै पनि देशको स्वाभिमानी नागरिक हुनुको परिचय भएको बताएको छ । नागरिकता वितरणमा खेलवाड नहोस् भन्ने आग्रह राप्रपा नेपालले गरेको छ ।













प्रतिक्रिया