२८ आश्विन २०८३, बुधबार

माल्दिभ्सका पर्यटनमन्त्रीले उद्घाटन गरे फोटो पत्रकार समूहको फोटो प्रदर्शनी (फोटो फिचर)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १६ जेठ । पर्यटकीय नगरी पोखरामा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)को ‘साहसिक पर्यटन’ फोटो प्रदर्शनी सुरू भएको छ ।

पोखरा ग्राण्डी होटेलमा सुरू प्रदर्शनी माल्दिभ्सका पर्यटनमन्त्री अब्दुल्लाह मौसुम र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले रिवन काटेर उद्घाटन गरेका हुन् ।

प्रदर्शनीको उद्घाटन गर्दै माल्दिभ्सका पर्यटनमन्त्री मौसुमले प्रदर्शनीमा फोटो पत्रकारहरूले खिचेका उत्कृष्ट फोटोहरू देखेर निक्कै नै खुसी लागेको बताए । ‘म आज यहाँ उपस्थित हुँदा नेपालको सबै ठाउँ पुगेको जस्तो अनुभूति भएको छ,’ उनले भने ।

पर्यटन प्रवर्द्धनमा फोटोले महत्वपूर्ण भूमिका खेल्ने भन्दै नेपालका आकर्षक ठाउँहरूको फोटो अवलोकन गर्ने अवसर दिएकोमा आयोजक एनएफपीजेलाई धन्यवाद दिए । एनएफपीजेले मन्त्री मौसुमलाई मायाको चिनो स्वरूप फोटो बुक पनि प्रदान गरेको छ ।

माल्दिभ्सका पर्यटनमन्त्रीसँगै दक्षिण एशियाका विभिन्न विशिष्ट व्यक्तिहरूले उक्त प्रदर्शनी अवलोकन गरेका थिए । (पाटा) संगको सहकार्यमा आज मंगलबारदेखि सुरू प्रदर्शनी शुक्रबारसम्म चार दिन चल्नेछ ।

एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा)को वार्षिक शीखर सम्मेलन र एडभान्चर ट्राभल मार्टमा भाग लिन मन्त्री मौसुमसहित विभिन्न मुलुकका करिब १६० जना पाहुना, क्रेता र बिक्रेता गरी करिब २ सय ५० जना पोखरा आएका छन् ।

सम्मेलनमा सहभागि हुने राष्ट्रिय अन्तर्राष्ट्रिय ट्राभल उद्योगका ख्यातिप्राप्त वक्ताहरूले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटन लगायतका विषयमा छलफल चल्ने छ ।

शिखर सम्मेलन विभिन्न देशका पर्यटन व्यावसायी सहभागि हुने भएकोले एकअर्का मुलुकबीचको पर्यटन सम्भावना र अवसरबारे अनुभव साटासाट गर्ने छन् । नेपालले तेस्रोपटक एडभेन्चर मार्ट र पहिलोपटक पाटा वार्षिक शीखर सम्मेलन आयोजना गर्न लागेको हो ।

नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा खिचिएका उत्कृष्ट पर्यकीय र साहसिक फोटोहरू राखिएको आयोजक एनएफपीजेका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक सुनिल शर्माले जानकारी दिए ।

प्रदर्शनीमा करिब ३० फोटो पत्रकारहरूले खिचेका ६० भन्दाबढी फोटोहरू राखिएको छ ।

हेरौँ उद्घाटनका तस्वीरहरू–