२८ आश्विन २०८३, बुधबार

पर्यटन मन्त्रालयले पायो १२ अर्ब बजेट, यस्ता छन् योजना र उद्देश्य

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आज सोमबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउने योजनासहित उक्त बजेट विनियोजन गरिएको बताए ।

उनले पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि मात्रै २ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरिएको बताए । नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचार प्रसार गरिने उनले बताएका छन् ।

अतिथि देवो भव भन्ने नेपाली संस्कृति अनुरूप पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरिने समेत बजेटमा उल्लेख छ । सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्‍याइने उनले बताए ।

सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने, हवाई यातायात सेवालाई सुरक्षित र गुणस्तरीय बनाइने मन्त्री महतको भनाइ छ । महतले विराटनगर, भरतपुर, नेपालगंज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने बताए ।

त्यस्तै, रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गा लगायतका विमानस्थलको स्तरोन्नति गरिने उनको भनाइ छ ।

उनले दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने समेत घोषणा गरेका छन् ।

त्यस्तै, सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रुपैयाँ बजेट विनयोजन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालू आर्थिक वर्षमा ९ अर्व १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि बजेट घटाइएको छ ।