
काठमाडौं, १५ जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्व ९९ करोड रुपैया विनियोजन गरेको छ ।
आज सोमबार संघीय संसदको दुवै सदनमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराउने कार्यक्रमसहितको उक्त बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
अर्थमन्त्री महतले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराउने बताएका छन् । मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ ।
बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने उनले बताए । उनले सबै संघीय अस्पतालमा मानसिक रोगका लागि अन्तरंग सेवा विस्तार गरिने, वीर अस्पतालको वर्न युनिटलाई सुविधासम्पन्न वर्न अस्पतालको रुपमा विकास गरिने बताए ।
त्यस्तै मन्त्री महतले सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण हुने व्यवस्था गरिने र स्थानीय तहमा निर्माण भइरहेका अस्पतालका लागि ८ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । नि:शुल्क औषधिका लागि १ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको र सरुवा रोग नियन्त्रणका लागि ४६ करोड विनियोजन गरिएको उनले बताएका छन् ।
त्यस्तै, सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब, ९७ अर्ब २९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । मन्त्री महतले विद्यालय तह, प्राविधिक र उच्च शिक्षाका लागि ३ अर्ब विनियोजन गरिएको बताए ।
उनले प्रारम्भिक बाल विकास केन्द्रको पुन नक्सांकन गरिने जानकारी दिए । सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिदै सरकारले उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा ८ अर्ब ४५ करोड विनियोजन गरेको छ ।













प्रतिक्रिया