२८ आश्विन २०८३, बुधबार

गाडीमा आकस्मिक बत्ती बालेको हुँ, दुर्व्यवहार कसैलाई गरिएको छैन : पार्वत गुरुङ

7.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङले आफ्नोबारे प्रकाशमा आएका भ्रमपूर्ण समाचारप्रति गमभीर ध्यानाकर्षण भएको जनाएका छन् ।

हिजो शनिबार दोलखाबाट काठमाडौं आउने क्रममा एक युवकले आफूलाई पिछा गरेको र उनैले बाटो छेकेर अभद्र व्यवहार गरेको भन्दै गुरुङले समाचारमा आएकोजस्तो घटनाविवरण नभएको बताएका हुन् ।

ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत आफ्नो बुबा सिकिस्त भएको खबरपछि निजी गाडीमा आकस्मिक बत्ती बालेर काठमाडौं आएको तर बाटोमा आउँदा कसैलाई पनि दुर्व्यवहार नगरिएको उनले स्पष्ट पारेका छन् । बरु आफूमाथि बाटो छेकेर एक युवाले अभद्र व्यवहार गरेको दाबी उनले गरेका छन् ।

आज आइतबार फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘मेरो बुबा ललितपुरस्थित सुमेरु अस्पतालमा सिकिस्तै भएकाले म मेरो निजी गाडीमा काठमाडौं आइरहेकै बेला ती युवकले चलाएको गाडीले मलाई सुकुटेदेखि पिछा गर्दै आएको रहेछ । काभ्रेको तिनपिप्ले आइपुग्दा बाटो छेकी अभद्र व्यवहार गर्‍यो । चाँडै काठमाडौं आइपुग्न आकस्मिक बत्ती बालेर हिड्नुपर्ने बाध्यात्मक अवस्था थियो । हाम्रै गल्ती हो की भनेर बुझेँ तर, होइन रहेछ ।’

ती युवाले आफूसँग गरेको व्यवहार र फैलाइएको भ्रमप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले लेखेका छन्, ‘काभ्रेको खावाडाँडामा आइपुग्दा समेत मेरो गाडीलाई अबरोध गरियो । ओर्लेर प्रहरीसामू उनलाई सम्झाउन खोज्दा कुटपीट र हातपात भएको भनी एकपक्षीय ढङ्गले अतिरञ्जित गराइएकोमा दु:ख लागेको छ ।’

साथै, उनले यो सामान्य विषयसँग ७४ सालको स्थानीय तहको चुनावमा दोलखामा भएको ‘कुलबहादुर तामाङ हत्याकाण्ड’को वास्तविकतालाई लुकाएर अन्यत्र मोड्न खोजेकोमा पनि गम्भीर आपत्ति प्रकट गरेका छन् । घटनाको वास्तविक तथ्य लुकाएर एकपक्षीय रुपमा समाचार लेखेको उनले बताएका छन् ।

‘७४ सालको स्थानीय तहको चुनावमा भएको कुलबहादुर तामाङ हत्याकाण्डको वास्तविकतालाई लुकाएर अन्यत्र मोड्न खोजेकोमा मेरो गम्भीर आपत्ति छ । बरु त्यतिबेला वास्तवमा के भएको थियो ? कसले घट्ना घटाएको थियो भनी सत्य तथ्य खोज्न म सम्बद्ध पक्षलाई आग्रह गर्न चाहन्छु,’ उनले लेखेका छन् ।