
काठमाडौं, १४ जेठ । नेकपा एमालेले दुई वटै खुट्टा गुमाएर सगरमाथाको कीर्तिमानी आरोही गरेका हरि बुढामगरलाई सम्मान गरेको छ ।
आज आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले बुढामगरलाई सम्मान गरेका हुन् ।
बुढामगरले यही २०८० जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरो पाइला टेकेका थिए । उनले सगरमाथा आरोहरणमा घुँडाभन्दा मुनी अङ्ग बिच्छेद भएका व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गरेका छन् ।
बुढामगरलाई सम्मान गर्दै एमाले अध्यक्ष ओलीले दुबै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गर्नु सवैको प्रेरणाको स्रोत भएको बताएका छन् । मानिसले साहस र संल्कप गर्यो भने असम्भव विषय पनि सम्भव हुने भनाइ अध्यक्ष ओलीको छ ।
उनले सरोकार नै नभएका स्थानमा गएर काम गर्नुपर्ने र खुट्टा गुमाउनुपर्ने अवस्था रहेको भन्दै विदेशको सैनिकमा भर्ना भएका नेपालीहरुका विषयमा सरकारले गम्भीरताका साथ वार्ता गर्नुपर्ने बताए ।
यसैगरी, कीर्तिमानी आरोही बुढामगरले अपाङ्गता भएका व्यक्तिहरुलाई दयामाया भन्दा पनि अवसर दिनुपर्ने बताए । उनले सगरमाथा आरोहणसँगै नेपाल र नेपालीको शीर सगरमाथा जस्तै उच्च राख्न सकेको अनुभव भएको धारणा व्यक्त गरे ।
अपांगता जागरणका लागि आगामी दिनमा काम गर्ने उनको भनाइ छ ।
बुढामगरले बाध्यताका कारण १५ बर्ष व्रिटिसको जागिर खानुपरेको भन्दै अब देशको सेवा गर्ने बताए । रोल्पा घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुबै खुट्टा गुमाएका थिए ।
हेरौँ फोटो तथा भिडिओ-















प्रतिक्रिया