
काठमाडौं, ९ जेठ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
नेफिन युकेले आज मंगलबार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय समितिमार्फत केन्द्रका संस्थापक महाबिर पुनलाई उक्त रकम हस्तान्तरण गरेको हो । नेफिनको संघीय कार्यालय काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो ।
त्यस अवसरमा रकम हस्तान्तरण गर्दै नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुराले महाबिर पुनको आविष्कार केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गर्न सानो रकम हस्तान्तरण गरिएको बताए । केन्द्रले मुलुकभित्रै महत्वपूर्ण अभियान सञ्चालन गरेको भन्दै उहाँले यो अभियानमा सहभागी हुन समेत अपिल समेत गरे ।
त्यस अवसरमा उक्त रकम ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुनले केन्द्रले सञ्चालन गरिरहेको अभियानका विषयमा आम जनमानसलाई बुझाउन आवश्यक रहेको बताए । अभियानको वास्तविकता धेरैले नबुझेको उनको भनाइ छ ।

यसैगरी सो अवसरमा महासंघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले केन्द्रले सञ्चालन गरेको अभियान महत्वपूर्ण भएको भन्दै उक्त अभियानमा सबै कुनै न कुनै रुपले सहभागी हुनुपर्ने बताए । आफ्नै प्रयासमा आफ्नै देशभित्र महाबिर पुनले सुरु गरेको अभियान महत्वपूर्ण रहेको भन्दै अध्यक्ष शेर्पाले उहाँको उद्देश्य पुरा गराउन महासंघको पुर्ण साथ, समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
राष्ट्रिय आविष्कार केन्द्र र सरकारबीच भएको सहमति पालना हुनेमा विश्वास व्यक्त गर्दै उनले उक्त सम्झौता कार्यान्वयन नभए महासंघलाई जानकारी गराउन समेत आग्रह गरे ।
त्यस अवसरमा नेफिनका महासचिव दिवश राईले केन्द्रले सुरू गरेको अभियानलाई सहयोग गरेकोमा नेफिन युके शाखालाई धन्यवाद ज्ञापन गरेका थिए ।













प्रतिक्रिया