
काठमाडौं, ८ जेठ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मुस्लिम समुदाय देशभक्त आदिवासी समुदाय भएको बताएका छन् ।
आज ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनद्वारा आयोजित इद मिलन तथा सङ्घर्षशील आवाजहरु नामक पुस्तक विमोचन कार्यक्रममा उनले नेपालको मुस्लिम समुदाय शान्तिप्रिय र देशभक्त आदिवासी समुदाय भएको बताएका हुन् ।
जातका नाममा, धर्मका नाममा राजनीति गरेर जनता उझाल्ने काम सह्य नहुने र राष्ट्रिय एकता कायम गर्न सबैबीच सद्भाव हुनुपर्ने बताउँदै ओलीले भने, ‘धर्मका नाममा भड्काउने कामलाई निरुत्साहित गरिनुपर्छ । विविधतायुक्त नेपाली समाज हाम्रो साझा सम्पत्ति हो । समृद्धि र न्याय सहितको लोकतन्त्र हाम्रो राजनीतिक माध्यम हो । मिलेर बसेको विविधतायुक्त समाजलाई भड्काउन खोजिँदै छ ।’
राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने र राजनीतिक रोटी सेक्ने काम भइरहेको अध्यक्ष ओलीको भनाइ छ । राजनीतिको सबैभन्दा ठूलो विकृति सत्य अंगीकार गर्न नसक्नु रहेको बताउँदै उनले सामाजिक सद्भावलाई कायम गर्दै राष्ट्रिय एकता सुदृढ गरौं भन्ने भावनाको साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
उनले देशको सेवा र जनताको सुरक्षा गर्ने माध्यम राजनीति हुनुपर्ने बताएका छन् । ‘राजनीतिका नाममा ठगी खाने माध्यम बनाइनु हुँदैन । राजनीतिलाई झूट र बेइमानीको माध्यम बनाइनु हुँदैन,’ उनले भने ।













प्रतिक्रिया