२८ आश्विन २०८३, बुधबार

केपी ओलीको कुरा जनताले सुन्छन्, कसैलाई पट्यार लागेर केही हुन्न : ईश्वरी रिजाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । नेकपा एमालेका सांसद ईश्वर बहादुर रिजाल (ईश्वरी)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य केही मान्छेलाई पट्यार लागे पनि जनताले ध्यान दिएर सुन्ने र बुझ्ने गरेको बताएका छन् ।

आगामी आर्थिक वर्षका लागि सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा आज सोमबार भाग लिँदै उनले केही मान्छेहरूलाई अत्यन्तै पट्यार लाग्ने केपी ओलीको मन्तव्य जनताले पत्याएर सुन्ने गरेको र केही मान्छेलाई पट्यार लागेर केही फरक नपर्ने बताएका हुन् ।

‘तत्कालीन समयमा केही मान्छेहरूलाई मदन भण्डारीको कुरा पनि पट्यार लाग्ने गरेको थियो । त्यसैगरी अहिले केपी ओलीको कुरा पनि पट्यार लाग्दै जान्छ । पट्यार लाग्ने जमात पनि छ नेपालमा छैन हामी भन्दैनौँ । तर, मदन भण्डारीका मन्तव्य जनतालाई पत्यार लाग्थ्यो, केपी ओलीको मन्तव्य पनि अहिले जनतालाई पत्यार लाग्दैछ,’ सांसद रिजालले भने, ‘तपाइँहरूलाई पट्यार लागिरहोस् कोही बात छैन ।’

यस्तै, उनले वर्तमान गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम जीवन नभएको महादेवको मूर्ति जस्तो भएको टिप्पणी गरेका छन् । ‘भक्तपुरको साँगामा एउटा महादेवको मूर्ति छ, त्यो मूर्ति जहिल्यै काठमाडौंतर्फ उन्मुख छ तर, पाइला सार्दैन । किनभने त्यो मूर्तिमा जीवन छैन,’ उनले भने, ‘सरकारले अहिले ल्याएको नीति तथा कार्यक्रम पनि त्यस्तै हो, जसमा कुनै जीवन देखिदैन ।’

‘समाजवाद उन्मुख’ भनेर नीति तथा कार्यक्रमलाई सत्तामा सहभागी सात–आठ वटा दलतर्फ उन्मुख गराइएको उनको भनाइ छ ।

‘सरकारको नीति तथा कार्यक्रममा विगत, वर्तमान र भविष्य समेटिनुपर्ने भए पनि त्यसो गरिएको छैन । किभने यहाँ विगतलाई पूर्वाग्राही ढंगले हेरिएको छ र एमाले र केपी ओली झल्कने योजना हटाइएको छ,’ उनले भने, ‘राम्रा कुराहरूभित्र एमाले अवश्य पनि देखिन्छ, किनकी एमालेले धेरै काम गरेको छ ।’

केपी ओली र एमाले देखेकै कारण मुलुकमा भइरहेका कतिपय राम्रा कामहरूलाई नहटाउन उनले सरकारलाई आग्रह गरेका छन् । त्यस्ता कार्यक्रम हटाउँदै जाने हो भने जनताको भावनामा ठेश लाग्नाका साथै देश नै गन्तव्यहीन हुने उनको भनाइ छ ।

‘एमालेकै कारण अहिले मुलुकमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार भएको छ,’ उनले प्रश्न गर्दै भने, ‘पूर्वाग्राही बनेर हामीले विगत छोड्दै जाने हो भने कहाँ पुगिन्छ ?’

‘आफ्नो गाउँ आफैँ बनाउँ, चुच्चे नक्सा, सामाजिक सुरक्षा भत्ता, सामाजिक सुरक्षा कोषलगायतमा एमाले राम्रै झल्किने बताउँदै उनले जसले काम गर्छ त्यसैको ‘अनुहार’ झल्किने स्पष्ट पारे । नीति तथा कार्यक्रमले वर्तमान संकटको समाधान गर्ने आधार नभएका कारण भविष्यको कल्पनै गर्न नसकिने उनको भनाइ छ ।