
काठमाडौं, ६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलाहरूले सिन्दूर (सौभाग्य) पुछेर बनाएको राष्ट्रिय परिचयपत्र फल्दिए पनि हुने बताएका छन् ।
एमालेको भ्रातृ संगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले देशको संस्कृति र सभ्यतामाथि विभिन्न ढंगले आक्रमण भइरहेको चर्चा गर्दै सिन्दूर पुछेर राष्ट्रिय परिचयपत्र बनाइनु आपत्तिजनक भएको बताएका हुन् ।
‘राष्ट्रिय परिचयपत्र लिँदा सिन्दूर पुछ्नुपर्ने, पोते निकाल्नुपर्ने हुँदो रहेछ । त्यहाँ पानी पनि राखिदिएको हुन्छ, रुमाल राखिएको हुन्छ पुछ्नलाई,’ अध्यक्ष ओलीले भने, ‘विवाहित महिलाको सिन्दूर पुछ्ने अधिकार कसले दियो ? सिन्दूर पुछेर बनाइने त्यस्तो परिचयपत्र फाल्दिए हुन्छ ।’

राष्ट्रिय परिचयपत्र लिँदा महिलाको सिन्दूर पुछ्ने र पुरुषको टोपी खोल्न लगाउने गरिएको भन्दै अध्यक्ष ओलीले आपत्ति प्रकट गरेका छन् । ‘पुरुषले पनि टोपी खोल्नुपर्ने रे । टाई लाउनुपर्ने हो कि ? अरूका जे कुरा छन् त्यसको नक्कल गर्नुपर्ने कुनै आवश्यकता छैन,’ ओलीले भने, ‘भारतका पञ्जाबीले कतै पनि फेटा खोल्नु पर्दैन । जहाँ पनि लगाउन सक्छन् । टोपी पनि हाम्रो पहिचान हो । टोपी लगाउँदा किन मान्यता नपाउने ? कसैलाई लाग्दैन भने नलगाउन पाइन्छ, तर मन लाग्नेले लगाउन पाउनुपर्छ ।’
कसैको पनि सांस्कृतिक पहिचान मेट्न खोज्नु अपराध भएको बताउँदै ओलीले अगाडि भने, ‘कुन धर्ममा सिन्दूर लगाइँदैन त्यही हामीले पछ्याउनुपर्ने ? हाम्रोमा श्रीमान् वरण गर्दा सिन्दूर लगाइन्छ । श्रीमान् मर्दा सिन्दूर पुछिन्छ । पुछिनुको अर्थ विधवा हुनु हो । श्रीमान् हुँदासम्म पोते निकालिँदैन, चुरा फुटाइँदैन, सिन्दूर पुछिँदैन । कसका निर्देशनमा बनाइन्छ कानून ? पोते किन खोल्नुपर्यो ? लगाएको सिन्दूर किन पखाल्नुपर्यो ? सिन्दूरसहित हुँदा के खराबी हुन्छ ? परिचयपत्र होस कि नागरिकता होस । जे सुकै भए पनि त्यसमा परिपूर्ण कुराहरू हुनुपर्छ ।’
नजानिँदो गरी हाम्रो संस्कृति र सभ्यतामाथि हमला भइरहेको ओलीको भनाइ छ । हाम्रो परम्पराका सुन्दर कुराहरूमा, पहिचान र परिचयमा हमला भइरहेको बताउँदै उनले सांस्कृतिक पहिचान मेट्न खोज्नु अपराध भएको बताएका छन् ।













प्रतिक्रिया