
काठमाडौं, ६ जेठ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता देशको ठूलो समस्या भएको बताएका छन् ।
नेपाल बुद्धीजीवी परिषदले हिजो शुक्रबार आयोजना गरेको ‘नेपालको अर्थतन्त्र : वर्तमान अवस्था र आगमी दिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले राजनीतिक स्थिरता नहुँदा सबै क्षेत्रहरू प्रभावित भएको बताउँँदै अस्थिरता देशको ठूलो समस्या भएको बताएका हुन् ।
राजनीतिक अस्थिरताकै कारण मुलुकमा विकास निर्माणका कामले सोचेजति गति लिन नसकेको नेता पोखरेलको भनाइ छ । पूर्व उपप्रधानमन्त्री समेत रहेको पोखरेलले राजनीतिक स्थिरताका लागि निर्वाचनका बेला जनताले सचेततापूर्वक मतदान गर्नुपर्ने बताए ।
पछिल्लो पटकको आम निर्वाचनले मुलुकमा झनै अस्थिरता बढाएको उनको भनाइ छ । साथै, उनले आउने दिनमा राजनीतिक स्थिरताको लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली छलफलको विषय नबनेमा अगाडि बढ्न नसकिने पनि बताएका छन् ।
‘नेपालका राजनीतिक पार्टीहरुले देशभित्र रहेर राष्ट्र र जनताको हितमा काम गर्छौँँ भन्छन् भने छलफल गरेर साझा धारणा बनाउनुपर्छ । राजनीतिक अस्थिरता साँच्चै भन्ने हो भने सिङगै मूलुकको सबैभन्दा ठूलो समस्या हो । राजनीतिक स्थिरताको अभावमा मुलुकको सबै क्षेत्र समस्यामा छन्,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको सार्वजनिक प्रशासन कमजोर र भ्रष्ट रहेको बताए । यस्तो अवस्थामा करको दर हेरफेर गर्दा गैरकानुनी तवरबाट कर गुम्ने खतरा हुने उनको भनाइ छ ।
कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा र नेपाल बुद्धीजीवी परिषदका अध्यक्ष डा दिनेश चन्द्र देवकोटाले वर्तमान गठबन्धनले देशको अर्थतन्त्र धराशयी बनाएको बताए ।













प्रतिक्रिया