
काठमाडौं, ६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको नीति तथा कार्यक्रमले मुलुकको विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्न नसकेको बताएका छन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा हिजो शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रमलाई ‘न नीति, न कार्यक्रम’ को संज्ञा दिदै उनले नीति तथा कार्यक्रममार्फत राजनीतिक अस्थिरता र सामाजिक अराजकताले सृजना गरेको बहुआयामिक चुनौतीलाई सम्बोधन गर्न नसकेको बताएका हुन् ।
‘करिब १ घण्टा ४० मिनट लामो नीति तथा कार्यक्रमले राजनीतिक अस्थिरता र सामाजिक अराजकताले सृजना गरेको बहुआयामिक चुनौती र धार्मिक अतिवाद तथा धर्मान्तरका कारणले नेपाली समाजमा भइरहेको साँस्कृतिक मूल्यको विघटनको असरलाई न्युनीकरण गर्ने उपाय प्रस्तुत गर्न सकेन,’ सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले लेखेका छन्, ‘चरम आर्थिक सङ्कट र मन्दीको अवस्थावाट मुलुकलाई बाहिर निकाल्ने ठोस उपाय प्रस्तुत गरी पीडामा रहेका नागरिकलाई आस्वस्त गर्न सकेन ।’
नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेका विषयहरू बजेटले सम्बोधन गरास् भन्ने आशय प्रकट गर्दै महासचिव पोखरेलले भनेका छन्, ‘जेठ १५ मा आउने आर्थिक वर्ष २०८०/२०८१ बजेटमा चाहिँ यस्तो नहोस् । बजेटका माध्यमबाट चुनौतीहरुलाई सम्बोधन गरियोस् । विदेश पलायन भइरहेका युवाहरुमा आशा जगाउने काम गरियोस् । बजेटको तयारीमा जुट्नुभएका माननीय अर्थ मन्त्रीज्यूलाई शुभकामना ।’













प्रतिक्रिया