
काठमाडौं, ५ जेठ । विभिन्न व्यक्तिलाई प्रलोभन देखाई नगद र सुन ठगी गरेको आरोपमा नेपाली कांग्रेसका महासमिति सदस्य कृष्णमुरारी गुरुङ पक्राउ परेका छन् ।
सिन्धुलीको गोलञ्जर गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौंले केही दिनअघि नै पक्राउ गरेर आज सार्वजनिक गरेको बताएको छ ।
पक्राउ परेका गुरुङमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप समेत गरिसकिएको प्रहरीले जनाएको छ । आफ्नो व्यवहार एवम् व्यापार मिलाउन भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार मुद्दा परेकाले आफ्नो सम्पूर्ण सम्पत्ति रोक्का भएको भन्दै उनले पटक–पटक गरी सुरेश केसीसँग नगद ७ करोड ७५ लाख रुपैयाँ र २० तोला सुन लिएका थिए । त्यस्तै, २०७४ सालको असोज महिनामा देउबहादुर गुरुङसँग ३० लाख रुपैयाँ लिएको पनि प्रहरीले जनाएको छ ।
त्यस्तै, गाडी बिक्री गर्न २० लाख चाहिने भन्दै सरिता गुरुङसँग २० लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनलाई ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
गुरुङ गत प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली–१ बाट उम्मेदवारको दाबेदार समेत बनेका थिए ।













प्रतिक्रिया