२८ आश्विन २०८३, बुधबार

त्रिभुवन आर्मीसँग एएफसी खुमलटार बराबरी र हिमालयनसँग एपीएफ पराजित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले एफसी खुमलटारसँग बराबरी खेलेको छ भने हिमालयन क्लवसँग विभागीय टोली एपीएफ पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार आर्मीले एफसी खुमलटारसँग २–२ गोलको बराबरी खेलेको हो । आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले एक एक गोल गरे । खुमलटारका मेसुके ओलुमोउ र स्टेफेन समिरले एक एक गोल गरे ।

खेलको १४औं मिनेटमा जगजितले फ्रिकिक मार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ३५औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ५१औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ७५औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै खुमलटारलाई २–२ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै आर्मीले १९ खेलमा २६ अंक जोडेको छ । खुमलटारले १९ खेलमा १८ अंक जोडेको छ ।

त्यस्तै, शुक्रबार नै एन्फा कम्प्लेक्समा हिमालयनले विभागीय टोली एपीएफ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । हिमालयनको जितमा खामिर गिल्सन, पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले एक एक गोल गरे ।

एपीएफका सनिश श्रेष्ठ र युवराज खड्काले एक एक गोल फर्काए । जितसँगै हिमालयनले १९ खेलमा २४ अंक जोडेको छ । एपीएफले १९ खेलमा २२ अंक जोडेको छ ।