२८ आश्विन २०८३, बुधबार

प्रचण्डलाई शंकर पोखरेलको जवाफी प्रश्न– खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न नमिल्ने हो ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राज्यको सम्पत्तिमा खुलेआम लुट र डकैती गरिनुलाई भ्रष्टाचार भन्न नमिल्ने हो र भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका क्रममा माओवादीको लडाकु शिविरमा अनियमितता नभएको स्पष्टीकरण दिएको भोलिपल्ट आज बिहान एमाले महासचिव पोखरेलले विभिन्न तथ्य र प्रमाणहरूसहित जवाफ फर्काएका हुन् । प्रचण्डले हिजो बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नमा जवाफ दिदै क्यान्टोनमेन्टमा कुनै अनियमितता नभएको र सम्पूर्ण खर्चको अडिट भइसकेको बताएका थिए ।

तर, शंकर पोखरेलले क्यान्टोनमेन्टभित्र रहेका लडाकुका नाममा माओवादीले खुलेआम रुपमा राज्यको सम्पत्ति दोहन गरेको जिकिर गरेका छन् । ‘लडाकु शिविरको खुला सत्य !!’ शीर्षक दिएर उनले आज सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘लडाकु शिविर प्रकरणमा ७–८ हजारको हाराहारीमा रहेका लडाकुहरुलाई ३२–३३हजार पुर्‍याएको कुरा प्रचण्ड आफैले हुंकारका साथ बोलेको अडियो सामाजिक सञ्जालमा सुरक्षित छ । वास्तविक लडाकु ७–८ हजारमध्ये केहीलाई शिविरमा राखेर अरु बाँकीलाई वाईसीएलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीवाट बाहिरिएका धेरैले बोल्ने गर्दछन् ।’

यस्तै उनले, शिविरमा रहेकाहरूले बुझ्ने गरेको भत्ताको चेक उनीहरुका कमाण्डरले खोसेर राख्ने गरेको कुरा त्यहाँ बस्ने स्वयम् लडाकुहरु धेरैले धेरैपटक उठाउँदै आएको बताउँदै अगाडि लेखेका छन्, ‘अनमिनले प्रमाणीकरण गरेकाहरु मध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकास रोजेर राज्यवाट ठुलो रकम प्राप्त गरेकै हुन् । यी सबै तथ्यहरुबाट राज्यले कति अनुचित आर्थिक भार बोक्नु पर्‍यो र लडाकुको नाममा राज्यले उपलब्ध गराएको सहयोग कसरी उनीहरुका कमाण्डरहरुले लुटे र कस–कसलाई बुझाए भन्ने कुरा खोजी गर्दा लुक्न सक्ने कुरा होइन ।’

तर, पनि माओवादीका अध्यक्ष प्रचण्ड र अन्य नेताहरूले अझै पनि ठूलो स्वरमा हुंकार दिइनै रहेको बताउँदै महासचिव पोखरेलले लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन, अनियमितता भएको छैन भन्नु सरासर झूट भएको बताएका छन् ।

‘हो नि लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्य माथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र,’ प्रश्न गर्दै पोखरेलले अगाडि लेखेका छन्, ‘तर पनि नेपाली जनताले शान्तिका नाममा ती सवै कुरालाई आजसम्म सहँदै आएका छन् । सत्य यही हो ।’