
पोखरा, ४ जेठ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएकालाई एमालेले पार्टीको तर्फबाट कारबाही गरिसकेको भए पनि नेपाली कांग्रेसले अझै जोगाएर राखेको बताएका छन् ।
प्रेस चौतारी कास्कीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले शरणार्थी प्रकरणमा जोडिएकालाई एमालेले कारबाही गरे पनि कांग्रेसले अझै संरक्षण गरिरहेको बताएका हुन् ।
नक्कली शरणार्थी प्रकरणमा जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आए पनि कारबाही हुनुपर्ने उपमहासचिव ज्ञवालीको भनाइ छ । ‘शरणार्थी काण्डको छानबिन गर्न सजिलो होस् भनेर एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ, कांग्रेसले पनि पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई संरक्षण गरेर राख्नु हुँदैन, छानबिनका लागि प्रहरीलाई सजिलो बनाइदिनुपर्छ,’ उपमहासचिव ज्ञवालीले भने ।
नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नै गम्भीर असर पारेको बताउँदै उनले ठूला राजनीतिक दल एकै ठाउँमा उभिएर लोकतन्त्रको रक्षा गर्न आवश्यक रहेको औल्याए ।
नक्कली भुटानी शरणार्थी, वाइडबडी, एनसेललगायत काण्डको छानबिन गरी दोषीमाथि पनि कडा कारबाहीको माग उनले गरेका छन् । पछिल्लो समय देशको अर्थतन्त्र अत्यन्त कमजोर अवस्थामा पुगेको र देशको अर्थतन्त्र बिग्रनुमा भूकम्प, नाकाबन्दी, कोरोना र फ्रान्स र युक्रेन युद्ध पनि रहेको उनको भनाइ छ ।













प्रतिक्रिया