
काठमाडौं, ४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा सभामुखले सुरू गरेको प्रधानमन्त्री र सांसदहरूबीच प्रश्नोत्तरमा प्रश्नहरू औपचारिकता मात्रै र उत्तरहरू ओठे प्रतिवद्धता मात्रै हुन नहुने बताएका छन् ।
संसदमा नयाँ प्रचलन सुरू भएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष ओलीले देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर नपुग्ने बताउँदै जनतालाई अनुभूति हुनेगरी परिणाम निस्किनुपर्नेमा पनि जोड दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘सम्माननीय सभामुखज्यूले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसद्हरूबीच जनताका जल्दाबल्दा विषयमा सवाल–जवाफको नयाँ प्रचलन आजदेखि सुरू गर्नु भएको छ । ठीक छ ।’
सांसदहरूले संसद्मा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सक्नुपर्ने र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा हुनुपर्ने बताउँदै ओलीले भनेका छन्, ‘प्रश्नहरू दुई किसिमका हुन्छन् । एकथरी प्रश्नको उत्तर मात्र दिए पुग्छ । देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर पुग्दैन, जनतालाई अनुभूति हुनेगरी परिणाम दिनु पर्छ ।’
ओलीले अगाडि भनेका छन्, ‘सांसद्हरूले संसद्मा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सकोस् र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा गर्न सकोस् । त्यसले हरेक नागरिकले संसद्मा आफैं भएको महसुस गर्न पाउने छ । प्रश्नहरू औपचारिकता मात्रै नहोउन् र उत्तरहरू ओठे प्रतिवद्धता मात्रै नहोउन् । शुभकामना छ ।’
यस्तै, अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएको तथ्य र प्रमाणहरूलाई संसदको अर्को कुनै बैठकमा व्यक्त गर्ने बताएका छन् । प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज आफू संसद्को बैठकमा सहभागि हुन नसकेको बताउँदै उनलेस्वास्थ्य अवस्था अनुकुल भएपछि अर्को बैठकमा आफूले थाहा पाएको कुरा बताउने जानकारी दिएका हुन् ।
‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागि हुन सकिनँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसद् समक्ष राख्ने मैले यसअघि बताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसद्मा बोल्ने नै छु,’ उनले लेखेका छन् ।
केही दिनदेखि अस्वस्थ रहेका ओली सिटामोल खाएर हिजोसम्मका कार्यक्रमहरूमा सहभागी भएको र आज संसदको बैठकमा भने उपस्थित हुन नसकेको अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।
यद्यपि, आज ओलीले संसदमा गर्ने भनिएको पूर्वघोषित विशेष सम्बोधन प्रधानमन्त्री र सांसदहरूबीचको सवाल–जवाफका कारण यसअघि नै स्थगित गरिएको थियो ।













प्रतिक्रिया