मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

मदन भण्डारीको त्यो अदभुत क्षमता

बिष्णु पौडेल २०८० जेठ ३ गते १४:५२

मदन भण्डारीलाई मचाहिँ एउटा धारको प्रमुख नेताका रूपमा बुझ्छु । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाका लागि पुष्पलालले नेतृत्वदायी पहलकदमी लिनुभयो र कम्युनिस्ट आन्दोलनलाई अथक ढंगले अघि बढाउन अहम् भूमिका पनि निर्वाह गर्नुभयो । उहाँको योगदानको अलग मूल्यांकन छ । तर, समग्रमा मूल्यांकन गर्दा विचार, दृष्टिकोण, सिद्धान्त र कार्यक्रमका हिसाबले मात्रै होइन, कम्युनिस्ट आन्दोलनलाई जनव्यापी र देशव्यापी बनाउने हिसाबले पनि कम्युनिस्ट आन्दोलनको मुख्य नायकका रूपमा मदन भण्डारी स्थापित हुनुभएको छ । जसरी एउटा धारले राजा महेन्द्रलाई नेता मान्छ, अर्को धाराले बीपी कोइरालालाई मुख्य नेता मान्छ, म चाहिँ मदन भण्डारीलाई वामपन्थी आन्दोलनको प्रमुख नेताका रूपमा मान्दछु ।

मदन भण्डारीसँग मेरो पहिलो भेट सम्भवत: २०३३ को अन्त्य वा ०३४ को सुरुतिर भएको थियो । म भर्खर एसएलसी उत्तीर्ण गरेर कलेज पढ्ने हिसाबले रूपन्देहीमा दिदीको घरमा थिएँ । त्यतिबेला पनि मदन सधैँझैँ कालो टोपीमा हुुनुहुन्थ्यो । त्यतिबेला मैले उहाँलाई कुनै एक जना नेताका रूपमा छद्म नाममा भेटेको थिएँ तर कुनै उठबस भएन । त्यसपछि उहाँसँग मेरो चिनिने गरी देखभेट एकै पटक ०४६ साल भदौमा सिरहामा आयोजित तत्कालीन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशनमा भएको थियो । महाधिवेशनमा उहाँ जुन रूपमा प्रस्तुत हुनुभयो र हामीले जुन रूपमा देख्यौँ, त्यसले समकालीन नेताहरूलाई उछिनेर उहाँ निकै फासलाका साथ अघि बढ्न सक्नुहुन्छ भन्ने छाप हामीहरूमा परेको थियो । भूमिगत त्यस समयमा धेरैले धेरै नेतालाई नजिकबाट चिन्ने अवस्था हुँदैनथ्यो । तर, त्यतिबेला मदन भण्डारीले जुन प्रभाव महाधिवेशन प्रतिनिधिहरूका बीचमा छोड्नुभयो, त्यसबाट उहाँ पार्टीका शीर्ष नेताहरूमध्ये निकै अघि हुनुहुन्छ भन्ने बुझ्न कठिनाइ भएन ।

त्यतिबेला लुम्बिनी अञ्चललाई हामी पश्चिम–दक्षिण क्षेत्रीय कमिटी भन्थ्यौँ । महाधिवेशन सकिएपछि हामीले त्यसको अधिवेशन आयोजना गर्नु थियो । त्यस अधिवेशनबाट ईश्वर पोखरेललाई बिदा गरेर केपी ओलीलाई त्यस क्षेत्रको जिम्मेवारी दिने गरी केन्द्रबाट निर्णय भएको थियो । मदन भण्डारी पाल्पामा आयोजित त्यस अधिवेशनको प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । एउटा कार्यकर्ताका रूपमा उहाँसँग कुराकानी गर्न पाउँदा उहाँका बारेमा मेरा मनमा परेको छाप अझ गाढा बनेको थियो ।

०४६ सालको जनआन्दोलन संगठित गर्नमा विचार, जनपरिचालन दुवैका हिसाबले मदन भण्डारीको निर्णायक योगदान छ । आन्दोलनको सफलता सँगसँगै वामपन्थी आन्दोलनलाई राष्ट्रिय राजनीतिको मूलधार बनाउने योजना र उद्देश्यका साथ कतिपय मतभिन्नताका बाबजुद तत्कालीन नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकीकरणका लागि मदनले निर्णायक पहलकदमी लिनुभएको थियो । अरू थुप्रै साना–मसिना वामपन्थी समूहलाई पनि मिलाएर लैजाने पहलकमदी नलिएको भए एमाले एउटा सबल, एकीकृत र मूल कम्युनिस्ट पार्टी बन्न सम्भव थिएन । ०४६ को आन्दोलनको सफलता र माले–मार्क्सवादी एकीकरणपछि उहाँले साँच्चै पार्टीलाई देशव्यापी र जनव्यापी बनाउनका लागि एउटा दृष्टिकोणका साथ अगुवाइ गर्नुभयो र पार्टीले धेरैले अपेक्षा नै नगरेका रूपमा आफूलाई जनताको लोकप्रिय शक्तिका रूपमा स्थापित गर्न सक्यो ।

विचार, नीति र सिद्धान्तका हिसावले मदन भण्डारीले नेकपा (एमाले) लाई एउटा नयाँ उचाइमा पुर्‍याएको तथ्य निर्विवाद रूपमा स्थापित भएको छ । जनताको बहुदलीय जनवाद मदन भण्डारीले कुनै प्रसंगवश स्वीकारको विषय थिएन । त्यो चाहिँ उहाँले आन्दोलनका अनुभवहरूको जगमा सचेतन रूपमा निकालेको निष्कर्ष थियो । त्यो अवधारणा उहाँले चौथो महाधिवेशनमै कार्यक्रमिक अवधारणामा पनि कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्न हुने क्रान्तिपश्चात पनि हामी एकदलीय शासन व्यवस्था होइन, बहुदलीय प्रतिस्पर्धामा जान्छौँ भनेर अघि सार्नुभएको थियो । त्यही मान्यता ०४७ सालमा माले–मार्क्सवादीबीचको एकताको घोषणापत्रमा पनि उल्लेख गरियो । त्यसपछि, उहाँले यो मान्यता किन आवश्यक छ भन्ने विषयमा व्यवस्थित रूपमा राष्ट्रिय–अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभवहरूलाई विश्लेषण गरेर सिद्धान्तकृत गर्नुभयो र धेरै उचाइबाट जनताको बहुदलीय जनवाद प्रतिपादन गर्नुभयो ।

०४६ सालको जनआन्दोलनका बेला म पार्टीको नवलपरासी जिल्ला सचिव थिएँ । मलाई एक वचन पनि नसोधेर उहाँले महाकाली कार्यक्षेत्रमा खटाउनुभएछ । म चाहिँ त्यतिबेलासम्म लमहीबाट पश्चिमतिर गएकै थिइनँ । मलाई उहाँले जुन विश्वासका साथ खटाउनुभयो, त्यस आधारमा मैले दुई वर्ष महाकालीमा काम गरेर फर्कें । पाँचौँ राष्ट्रिय महाधिवेशनअघि नै राष्ट्रिय परिषद् र केन्द्रीय कमिटीमा मदनकै पहलमा मलाई लगिएको थियो । त्यसपछि एउटै कमिटीमा बसेर उहाँलाई अझ नजिकबाट चिन्न, बहसमा भाग लिन, तर्क सुन्न र काम गर्ने तरिकाका बारेमा बुझ्न पाउँदा उहाँको प्रभावशाली व्यक्तित्वले झन् बढी प्रभावित पारेको थियो ।

त्यतिबेला मदनले ‘जनताको बहुदलीय जनवाद’बारे नामक एउटा सानो पुस्तिका लेख्नुभएको थियो । त्यो पुस्तिका प्रकाशित भएपछि कालिमाटीस्थित जीवन मानन्धरको घरमा आयोजित केन्द्रीय कमिटीको बैठकमा त्यसलाई ठूलो मुद्दा बनाइयो । ‘पार्टीको विचार, नीति, दृष्टिकोण र निर्णयविपरीत अघि सारिएको हुुनाले यो पुस्तिका फिर्ता ल्याउनुपर्छ, जलाउनुपर्छ र यसबापत मदन भण्डारीलाई कारबाही गरेर महासचिवबाट हटाउनुपर्छ’ भन्ने किसिमका कुरा उठे । तर, मदन भण्डारीलाई त्यस छलफलले किञ्चित प्रभावित गरेन । कारबाही गर्छन् वा गर्दैनन् भन्ने विषयमा उहाँलाई केही पनि मतलब थिएन ।

हामी मदनमा अनुयायीहरू आत्तिएका थियौँ । किनभने, मतदानमा जाँदा मदनले हार्न सक्ने सम्भावना थियो । तर, मदनलाई त्यसले छुँदै छोएन । त्यसबेला हामी कनिष्टहरूले एउटा प्रस्ताव गर्‍यौँ– ‘पार्टीले अहिलेसम्म बहुदलीय जनवादलाई आफ्नो कार्यक्रम भनेको छैन, आजका मितिसम्म नामकरणका हिसाबमा नौलो जनवाद नै आधिकारिक कार्यक्रम हो । त्यस कारणले एउटा बीचको बाटो निकालौँ, नत्र पार्टी मुठभेडमा जान्छ ।’ महाधिवेशन नजिक आइरहेको बेला त्यहीँ बहस गर्नुपर्छ र बहुदलीय जनवादलाई पारित गर्नुपर्छ भन्ने त छँदै थियो । त्यसका लागि हामीले बीचको बाटो प्रस्ताव गर्‍यौँ– ‘हाम्रो कार्यक्रम नौलो जनवाद नै हो, प्रसंगवश यसलाई बहुदलीय जनवाद भन्न सकिन्छ ।’ यस भाषाका आधारमा हामीले बीचको बाटो निकाल्यौँ र महाधिवेशनको आयोजना गर्न लाग्यौँ ।

महाधिवेशनको तयारीमा लाग्ने सिलसिलामा मदनले जनताको बहुदलीय जनवादलाई व्यवस्थित कार्यक्रमका रूपमा सूत्रबद्ध गर्नुभयो । त्यस सिलसिलामा त्यसमाथि उग्रवामपन्थी र दक्षिणपन्थी दुवै कोणबाट आक्रमणहरू भए । पार्टीभित्र र बाहिर दुवैतिरबाट भएका आक्रमणहरूको प्रतिवाद गर्ने क्रममा नै उहाँले जबजलाई अझ बढी व्यवस्थित बनाउन सक्नुभयो ।

पार्टीभित्र केही नेताहरू पहिलादेखि नै भन्दै आएको नौलो जनवादका पक्षमा हुनुहुन्थ्यो भने केही नेताहरू परिमार्जित नौलो जनवादका पक्षमा खडा हुनुभयो । हाम्रा वरिष्ठ नेताहरू चाहिँ ‘सिधै बहुदलीय जनवादभन्दा अप्ठेरो हुन्छ होला, यसलाई बहुदलीय नौलो जनवाद भन्नुपर्छ कि’ भन्ने अवस्थामा हुनुहुन्थ्यो । पछि पार्टीभित्र मदनले त्यसलाई पनि नमानेपछि कार्यक्रमको नाम जनताको बहुदलीय जनवाद नै राख्ने तर त्यसका अगाडि ‘जनताको’ शब्द राख्ने गरी हामीले त्यसलाई अघि बढायौँ ।

त्यतिबेलाको एउटा प्रसंग मलाई अहिले पनि सम्झना भइरहेको छ । सामन्ती भूस्वामित्व अन्त्य गर्दा क्षतिपूर्तिका सम्बन्धमा के गर्ने भन्ने प्रश्न उठेको थियो । मदनले क्रान्तिका पक्षमा रहेका वा विरुद्धमा नगएका जमिनदारहरूलाई क्षतिपपूर्ति दिइनेछ भन्ने प्रस्ताव अघि सार्नुभएको थियो । त्यसलाई कतिपयले गान्धीवाद भने, कतिपयले वर्ग समन्वय भने । तर, त्यसबाट उहाँ किञ्चित हल्लिनुभएन । हाम्रा कतिपय माथिल्लो उचाइका नेताहरू पनि त्यसका विपक्षमा हुनुहुन्थ्यो । मेरो कार्यक्षेत्र रहेको महाकालीका साथीहरूले त त्यसको वकालत नै गर्नुभयो । मलाई अहिले पनि सम्झना छ– प्रेमसिंह धामी, ऋषिराज लम्सालीजस्ता साथीहरूले ‘हामीलाई मदन भण्डारी असाध्यै प्रिय लाग्छ, जनताको बहुदलीय जनवाद पनि त्यत्तिकै प्रिय लाग्छ । तर, यो क्षतिपूर्ति दिने कुरा चाहिँ मान्न सक्दैनौँ’ भन्नुभयो । धेरै पटक मदनसँग उहाँहरूले बहस पनि गर्नुभयो । मदनले सम्झाउनुभयो । तर, उहाँहरू सहमत हुनुभएन । त्यसक्रममा मदनले भन्नुभएको थियो– ‘तपाईंहरूलाई मैले सबै कोणबाट सम्झाउने कोसिस गरेँ । तर, सम्झिनुभएन । त्यसकारण अब तपाईंहरू आफ्नो कार्यक्षेत्रमा फर्किनुहोस् । तपाईंहरूलाई ढिलो बुझ्ने पनि म अनुमति दिन्छु । तपाईंहरूले ढिलो बुझ्नुहुने भयो ।’

त्यतिबेला हामीहरू जनताको बहुदलीय जनवाद सही त छ तर यसले हार्नु हुँदैन भन्नेमा हामी बढ्ता सजग थियौँ । तर, मदन भण्डारीलाई चाहिँ हारिन्छ कि जितिन्छ भन्ने कुरासँग कुनै मतलब थिएन । खाली उहाँलाई यो सही छ कि छैन भन्ने कुरासँग मात्र मतलब थियो । म आफैँले पनि मदनसँग ‘यो क्षतिपूर्तिको विषयले असर पार्छ कि, महाधिवेशनमा हराउँछ कि ?’ भनेर चिन्ताका साथ कुरा गरेको थिएँ । मैले ‘क्षतिपूर्ति ठीक त छ तर अहिले महाधिवेशनले स्वीकार गरेर भने सिंगो कार्यक्रम नै प्रभावित हुन्छ । त्यसैले अर्को महाधिवेशनमा प्रस्तुत गर्ने गरी अहिले त्यसलाई हटाइदिनुस्’ भन्ने आग्रह गरेको थिएँ । तर, जवाफमा उहाँले भन्नुभयो– ‘तपाईं पक्षमा हुनुहुन्छ कि विपक्षमा ? समर्थन गर्नुहुन्छ, पक्षमा मतदान गर्नुहोस्, विरोध गर्नुहुन्छ, विपक्षमा मतदान गर्नुहोस् । म मेरो मान्यतासँग कहिल्यै पनि सम्झौता गर्दिनँ ।’ मलाई उहाँले ठाडठाडै जवाफ दिएर फर्काउनुभयो । मैले सोचेँ– कस्तो कडा हुनुहुँदोरहेछ ! तर, उहाँको अडानको औचित्य पछि प्रमाणित भयो ।

मदन आफ्नो मान्यता (कन्भिक्सन) सँग कहिल्यै पनि सम्झौता नगर्ने नेता हो भन्ने कुरा बुझ्न सकिन्थ्यो । उहाँ साँच्चै विशिष्ट क्षमता राख्ने राजनेता हुनुहुन्थ्यो । उहाँले केही काल नेतृत्व गर्न पाएको भए नेपालको वामपन्थी र लोकतान्त्रिक आन्दोलनलाई मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनलाई नै एउटा दिशा निर्देश गर्न सक्ने ल्याकत राख्नुहुन्थ्यो ।

आजको बिन्दुमा आएर सम्झिँदा हामीकहाँ मदन भण्डारीको अभाव निरन्तर खट्किँदै आएको छ । उहाँले सैद्धान्तिक रूपमा अघि सारेका मान्यताहरू पुष्टि हुँदै आएका छन् । हिजो विपक्षमा रहेका साथीहरू आज पक्षमा आएका छन्, हिजो आलोचक रहेका साथीहरू आज समर्थक बनेका छन् । त्यस हिसाबले मदन भण्डारी त अजेय नै हुनुभएको छ । तर, हामीलाई अनेकन क्षणहरूमा उहाँको अभाव खट्की नै रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित