
काठमाडौं, १ जेठ । नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले भारतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमण रोकेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई उत्तरप्रदेशमा स्वागत गर्नु रहस्यमय भएको बताएका छन् ।
प्रतिनिधि सभाको आज बसेको बैठकमा उनले नेपालमाथि कुटनीतिक दबाब सृजना गरेर भारतले आफ्नो एजेण्डामा सहमति गराउन प्रधानमन्त्रीको भ्रमण पटक–पटक सारिरहेको दाबी गरे ।
उनले पूर्वराजाको स्वागतका क्रममा त्यहाँका मन्त्री र नेताहरूले दिएको कतिपय अभिव्यक्ति आपत्तिजनक भएको चर्चा समेत गरेका छन् । भारतले ‘प्रेसर डिप्लोमेसी’ अपनाइरहेको भन्दै सांसद पन्तले सचेत हुनुपर्ने बताएका छन् ।
उनले भारतको दबाबपूर्ण कुटनीतिमा नपर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् । पन्तले स्वतन्त्र देशको प्रधानमन्त्रीले राष्ट्रको स्वार्थलाई हेरेर एजेण्डा तय गर्नुपर्नेमा पनि जोड दिए । उनले नेपालले असंलग्न परराष्ट्र नीतिबाट सन्तुलन गुमाउँदै जानु दु:खद कुरा भएको जिकिर गरेका छन् ।
उनले नेपालको वित्तीय गोपनीयता विदेशको हातमा जाने खतरा देखिएको भन्दै यसप्रति सजक हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।













प्रतिक्रिया