
काठमाडौं, ३१ वैशाख । नेकपा एमालेले भोलि जेठ १ गते युवा दिवस र ३ गते ३०औँ मदन–आश्रित स्मृति दिवस मनाउने भएको छ ।
वैशाख २८ देखि ३० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पाँचौँ केन्द्रीय कमिटीको बैठकले विभिन्न कार्यक्रम गरेर दिवस मनाउने निर्णय गरेको हो ।
एमालेले राष्ट्रिय युवा सङ्घ नेपालको स्थापना दिवसको सन्दर्भ पारेर प्रत्येक वर्ष जेठ १ गतेलाई युवा दिवसका रुपमा मनाउँदै आएको छ । दिवसका सन्दर्भमा भोलि आयोजना हुने विशेष कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सबै जजनसङ्गठनहरु र आम जनसमुदायलाई समेत आह्वान गरिएको छ ।
यस्तै, एमालेले जेठ ३ गते ३०औं मदन–आश्रित स्मृति दिवसलाई पनि विशेष रुपमा मनाउने भएको छ । उनीहरूको सम्झना र नेपाली राजनीतिमा जनताको बहुदलीय जनवादको योगदानको विशेष परिचर्चासहित भव्य रुपमा मनाउन सबै मातहत कमिटीलाई बैठकले आह्वान गरेको छ ।













प्रतिक्रिया