
उदयपुर, ३१ वैशाख । सोझासाझा मानिसलाई चिट्ठा पर्यो भन्दै रकम असुल गर्ने गिरोहका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको कटारी नगरपालिका–३ निवासी उज्वल थापामगर, चितवन जिल्ला रत्ननगर नगरपालिका–२ का सुशील श्रेष्ठ र काठमाडौँ महानगरपालिका १० बुद्धनगरमा लुकछिपी बसेका कटारी–३ का विशाल थापामगर छन् ।
उनीहरू बिरुद्ध ठगी सम्बन्धित मुद्दासमेत दर्ता गरिएको छ । ठगी तथा आपराधिक लाभ (एक्सटर्शन)सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनीहरूले दुई महिनाभित्र २२ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेका थिए ।
चिट्ठा परेको नाममा सम्बन्धित व्यक्तिले करस्वरुप तोकिएकमोजिमको रकम बुझाउनुपर्नेे भन्दै पहिला नै रकम असुल गरेर झुक्याउने गरेको गुनासो बढेपछि पटकपटकको खोजी र अनुसन्धानपछि ती अभियुक्तलाई पक्राउ गरिएको थियो ।
ठगी गर्ने गिरोहले भारतीय नागरिक प्रकाश वर्माको नाममा रहेको एक कम्पनीबाट चिट्ठा परेको भनेर जिल्लाका सोझासाझा जनतालाई ह्वाटस् एप्समार्फत उक्त कम्पनीको छापसमेतको कागजात देखाएर सुरुमै २० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म कर लिएर आफ्ना खातामा रकम सङ्कलन गर्न लगाउने गरेको खुल्न आएको छ ।
पक्राउ परेकाहरूले गाउँगाउँमा गएर पहिला आफ्ना मान्छेमार्फत पैसा भएका सोझासाझासम्म पुगेर नाम टिपेर पहिलो उनीहरुको आर्थिक अवस्था अध्ययन गरी रकम ठगी गर्न सकिनेलाई मात्र उनीहरुका नाममा फेक चिट्ठाका कागजात बनाएर चिट्ठा परेको कीर्ते कागजात देखाउने गरेका थिए ।













प्रतिक्रिया