बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

प्रचण्डको ‘लास्ट इनिङ’ : राजनीतिक स्थिरता र षडयन्त्र

निर्मल भट्टराई २०७९ माघ २४ गते १६:४७

नेपाली राजनीतिमा कुनै न कुनै रूपको अस्थिरता र अनिश्चयको बादल मडारिरहन्छ ।

देशको समृद्धि र विकासका लागि राजनीतिक स्थिरताको आवश्यकता औंल्याइए पनि व्यावहारिक रूपमा राजनीतिक स्थिरता देशले पाउन सकेको छैन । एउटा प्रधानमन्त्रीले पाँच वर्ष शासन गर्ने अवस्था दशकौंदेखि बन्न सकेको छैन ।

धेरै मानिसहरू यसो हुनुमा नेपालको संविधान, कानुन, शासन व्यवस्था आदिलाई दोष दिन्छन् तर शासन सत्ता सम्हालिरहेका र शासन सत्ता सम्हाल्न पर्खिरहेका नेताहरूको नियतमा रहेको खोटमाथि पर्याप्त विश्लेषण गर्दैनन् । देश र जनताको हितमा काम गर्ने र आफ्नो निजी स्वार्थमा काम गर्ने नेताबीच पनि कुनै भेद देख्दैनन् ।

निर्मल भट्टराई

करिब एक दशक लगाएर संविधानसभाले बनाएको नेपालको संविधान २०७२ अन्तर्गत भएका दुईवटा निर्वाचनले कुनै न कुनै रूप र शक्ति सन्तुलनको व्यवस्थापिका संसद दिएको छ । दुबै निर्वाचनका जनमत हेर्दा लाग्छ, फरक–फरक विचार, दृष्टिकोण र पृष्ठभूमि भएका दलहरू मिलेर राष्ट्र निर्माणमा लाग्नु आवश्यक छ भन्नेमा नेपाली मतदाताको म्यान्डेट हो ।

अघिल्लो संसदमा एमाले–माओवादी मिल्दा झण्डै दुई तिहाइ पुग्ने अवस्था थियो भने अहिलेको संसदमा सामान्य बहुमत पुर्‍याउन पनि धेरै दल मिल्नु पर्ने अवस्था छ । यो नेपाली जनताको मतादेश हो । मिलेर सत्ता बनाऊ र झगडा गर्न नथाली देशका तमाम समस्याको निकास देऊ भन्ने सार्वभौम जनताको आदेश हो ।

अघिल्लो गठबन्धनले अन्तिम समयसम्म पनि सरकार बनाउन नसकेपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सार्थक पहलले वर्तमान सत्ता गठबन्धनको जन्म भएको हो । आफ्नो चुनाबी प्रचारमा प्रधानमन्त्रीको लागि ‘लास्ट इनिङ’ गर्ने बताएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने, राष्ट्रपति र सभामुख गठबन्धनको सबभन्दा ठूलो दल एमालेले पाउने, गठबन्धनमा सहभागी साना–ठूला दलले आफ्नो हैसियतअनुसार सङ्घीय सरकार र प्रदेश सरकारमा भागबण्डा मिलाउने सर्तमा वर्तमान सत्ता गठबन्धन बनेको हो ।

माथि भनिएझैं ‘लास्ट इनिङ’को घोषणा गरेर सरकारको नेतृत्व गर्न पुगेका प्रचण्डलाई देखिने गरी देशको लागि केही गर्ने हुटहुटी हुनु अस्वभाविक होइन । नेपालको इतिहासमा धेरै प्रधानमन्त्रीले सिंहदरबारमा फोटो झुन्ड्याएका छन्, थोरैले देश र जनताका लागि काम गरेका छन् । सिंहदरबारमा फोटो झुन्ड्याउने मात्र होइन, देश र जनताको हितमा दीर्घकालीन महत्वका काम गर्ने प्रधानमन्त्री प्रचण्डको उत्कट चाहना त्यतिबेला पुरा हुन्छ, जतिबेला उहाँ जटिल परिस्थितिमा बनेको वर्तमान सत्ता गठबन्धनलाई पाँच वर्ष टिकाउन सक्नु हुन्छ । गठबन्धन भत्काउने र सरकार ढाल्ने विपक्षीका सबै षडयन्त्रलाई चकनाचुर पार्न सक्नुहुन्छ । सत्ता गठबन्धनमा सामेल दलहरूको संवेदनशीलता बुझ्नुहुन्छ र उनीहरूलाई विश्वासमा लिनसक्नु हुन्छ ।

प्रधानमन्त्रीलाई हठात विश्वासको मत दिएको र पछि प्रमुख प्रतिपक्षी दलको हैसियतका लागि संसद सचिवालयमा निवेदन दिएको नेपाली कांग्रेसको प्रमुख ध्येय नै वर्तमान सत्ता गठबन्धन भत्काउनु र आफ्नो गुमेको सत्ता फर्काउनु हो । नेपाली कांग्रेस अहिले सत्ता गठबन्धनमा अविश्वास पैदा गराउने, गठबन्धन दलको र खासगरी माओवादी केन्द्रको मत चोरेर राष्ट्रपति जित्ने र त्यहीकारण प्रचण्डलाई अल्पमतमा पारेर आफू सत्तामा पुग्ने ग्र्यान्ड डिजाइन बनाएको कहीँ कतै छिपेको छैन ।

सीमा विवादलगायत देशका कतिपय संवबेदनशील विषयमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्री प्रचण्डको सदासयतालाई उसले राष्ट्रपतिको चुनावसँग जोडेको छ । जुन गठबन्धनको बलमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको छ, त्यसलाई चकनाचुर पारेर उहाँ नेपाली कांग्रेसको मायावी जालमा प्रचण्डजस्तो चतुर राजनीतिक खेलाडी पर्नुहुन्न भन्ने हेक्का उसलाई छैन ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठकले ‘राष्ट्रपतिको निर्वाचनलगायतमा सकेसम्म राष्ट्रिय सहमति खोज्ने, नसके विचार र लक्ष्य मिल्ने दलसँग सहकार्य गर्दै अगाडि बढ्ने निर्णय गरेको छ, जुन सत्ता गठबन्धनको स्पिरिटभन्दा फरक छैन ।

सत्ता सञ्चालनमा तात्कालिक लक्ष्य मिलेर नै वर्तमान सत्ता गठबन्धनको जन्म भएको हो । हाल माओवादी केन्द्रको विचार र लक्ष्य मिल्ने दल एमाले,रास्वपा, राप्रपालगायतका सत्तारूढ दलहरू नै हुन्, नेपाली कांग्रेसलगासयतका विपक्षी दल हुन सक्दैनन् ।

वैज्ञानिक अल्फ्रेड नोबेलले विष्फोटक पदार्थको आविस्कार गरेपछि संसारको लागि ठूलो काम गरेकोमा उनको परिवारमा खुसियाली छाएको थियो । केही समयमै अल्फ्रेडका दाजुको देहवसान भयो । अल्फ्रेड नोबेलको देहवसान भएको ठानी एउटा पत्रिकाले भोलिपल्ट भँगेरे अक्षरमा समाचार बनायो–‘मानवजातिको हत्यारा अल्फ्रेड मर्यो’। आफू मरेको समाचार पढेपछि अल्फ्रेड निरास र चिन्तामग्न बने ।

आफूले राम्रो भनेर गरेको काम अरूले विलकुल भिन्न ढङ्गले बुझ्दारहेछन् भन्ने उनलाई महसुस भयो । ‘हत्यारा’को आरोपबाट मुक्त हुन पछि उनले आफ्नो सम्पत्तिबाट नोबेल पुरस्कारको स्थापना गरे भनिन्छ । अहिले प्रचण्डले उठाएको राष्ट्रिय सहमतिको नाराको हविगत पनि त्यस्तै भएको छ । त्यसलाई विद्रुपीकरण गरिएको छ । नेपाली कांग्रेसको हितमा प्रयोग गर्ने साधन बनाइएको छ ।

नि:सन्देह, जसरी वर्तमान गठबन्धन बनाउन एमाले–माओवादी सफल भए, गठबन्धनलाई मजबुत बनाउन र देशलाई सही दिशामा लैजान दुई सुप्रिमो ओली र प्रचण्ड सफल हुनुको विकल्प छैन ।

प्रतिक्रिया
सम्बन्धित