शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

के नेपालका कम्युनिष्ट कहिल्यै चेत्दैनन् ?

निर्मल भट्टराई २०७९ मंसिर १८ गते १९:४५

इतिहासकै भयानक प्रतिस्पर्धा देखिएको आम निर्वाचनको करिब करिब अन्तिम परिणाम आइसकेको छ ।

इगो, कुण्ठा र व्यक्तिगत मान अपमानका कारण नेपालका वाम शक्ति फुटेको मौका छोपी कम्युनिष्टहरूको प्रमुख प्रतिद्वन्दी नेपाली संसदमा सबभन्दा ठूलो दलको रूपमा फेरि उदाएको छ र अघिल्लो संसदमा झण्डै दुइ तिहाइको सङ्ख्यामा विजय प्राप्त गरेका कम्युनिष्ट शक्ति प्रतिरक्षात्मक अवस्थामा पुगेका छन् ।

कथित वाम– लोकतान्त्रिक गठबन्धन र एमालेको बीचमा भएको यो निर्वाचनमा १ सय ६५ सीटमै झिनो मतान्तरले हार जीत भयो । एमाले र गठबन्धन दुवैले सोचेको परिणाम हात लगाउन सकेनन् ।

निर्मल भट्टराई

समानुपातिक मत अर्थात् लोकप्रिय मतमा प्रथम भए पनि सकेसम्म बहुमत नभए पनि सबभन्दा ठूलो पार्टी बन्ने योजनामा रहेको देशको सबभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा (एमाले) लाई जनताले दोस्रो दलको भूमिका दिए । दोस्रो दलमा उक्लने र प्रधानमन्त्री आफू बन्ने लक्षका साथ चुनावमा होमिएको माओवादी केन्द्र कमजोर तेस्रो हैसियतमा सीमित बन्यो ।

एमालेलाई धुलो चटाउने योजनाको साथ चुनावमा गएको माधव समूहले नेपाली कांग्रेसको भोटले दस सीट जिते पनि समानुपातिक मतको कारण राष्ट्रिय पार्टी बन्ने संभावना लगभग समाप्त भएको छ । नेमकिपा र राष्ट्रिय जनमोर्चाले आफ्नो एक सीटे विरासत कायमै राखेका छन् ।

एकीकृत भइसकेको नेपालको कम्युनिष्ट आन्दोलन पुन: विभाजन हुँदा समाजवादप्रेमी, आर्थिक समृध्दि चाहने र राष्ट्रवादी नेपाली मतदाताको मन नराम्ररी भाँचिएको रहेछ भन्ने यो निर्वाचनले प्रष्ट गरेको छ । अप्रत्यासित रूपमा मतदाताले नयाँ पार्टीहरूलाई दिएको मतले यो कुराको पुष्टि गरेको छ । देश र जनताको लागि कम र आफू र आफ्नो परिवारको बारेमा बढी चिन्तित नेताहरूबाट वाक्क भएर जनताले फरक ढङ्गले मतदान गरेर विद्रोहको विगुल फुकेको प्रष्ट हुन्छ ।

हिजो जे जसरी छुट्टिए पनि, जुन कित्तामा उभिएर चुनावमा सामेल भए पनि नेपालका कम्युनिष्टहरू आज विल्कुल नयाँ घुम्तीमा आइपुगेका छन् । समयले उनीहरूलाई विमतिहरू थाँती राख, मिलेर सरकार बनाऊ, निकास देऊ भनिरहेको छ । नेपाली कांग्रेस अहिले कम्युनिष्टहरूको भोट चोरेर र कतिपय ठाउँमा बुथ कब्जा गरेर संसदमा ठूलो पार्टी बनेर आए पनि सो पार्टीले देशको समस्या समाधान गर्दैन । यो पटक–पटक प्रमाणित भएको तथ्य हो ।

विभिन्न राजकीय पद वाम तालमेलको आधारमा प्राप्त गर्ने प्रचुर संभावना भएको अवस्था हुँदाहुँदै तिनै पदको भीख नेपाली कांग्रेससँग किन माग्नु पर्‍यो ? कम्युनिष्ट शक्तिको नेतृत्वविना समाजवादको यात्रा तय नहुने जान्दाजान्दै त्यसमा कांग्रेस मिसाएर किन गिजोल्नु पर्‍यो ? आफू–आफू लडेर दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिको शासन किन खानु पर्‍यो ? कसैले पछारिसक्दा पनि मेरो हात त माथि नै छ नि भन्ने जस्ता तर्क किन गर्न पर्‍यो ? घमण्ड गर्नेहरूलाई जनताले ठेगान लाइदिन्छन्, चेत्ने र सच्चिनेलाई जनताले माया गर्छन् र सत्तामा पुर्‍याउँछन् भन्ने प्रष्ट भएन र ?

राजनीति रिस, आवेग र कुण्ठाले चल्दैन । कम्युनिष्ट आन्दोलन त यसरी अगाडि बढ्नै सक्दैन । विगतमा घोक्रो सुक्ने गरी भनिएका र कान टट्याउने गरी सुनाइएका ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गरेर अगाडि बढ्ने, धरातलीय यथार्थमा टेकेर अगाडि बढ्ने र मार्क्सवादको मार्गनिर्देशनमा अघि बढ्ने हो भने नेपालका कम्युनिष्ट नेताहरूले एक पटक राम्ररी घोत्लनु पर्ने टड्कारो आवश्यकता छ । र, सहमतिको टेवलमा बसेर देशको अनिश्चित भविश्यको लेखाजोखा गरेर सही निकास दिने आँट गर्नु पर्छ ।

भर्खरै सम्पन्न निर्वाचनमा जनताले दिएको हैसियतअनुसार एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले राजकीय हिस्सा लिने र राप्रपालगायतका साना दललाई समेट्ने हो भने परिवर्तित परिस्थितिमा देशले सही ट्र्याक समाउन सक्छ ।

नत्र कम्युनिष्टहरू तितरवितर भइरहने र आ–आफ्नो डम्फू बजाइ रहने हो भने प्रतिक्रियावादी शक्तिले सबैलाई पालैपालो काखमा राखेर ङ्याकिरहने निश्चित प्राय: छ ।

प्रतिक्रिया
सम्बन्धित