२८ आश्विन २०८३, बुधबार

दलहरूका कयौँ अवरोधको सामना गर्दै एमालेले वृद्धभत्ता दिन सुरुवात गर्‍यो: वरिष्ठ उपाध्यक्ष पोखरेल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालीन समयमा विभिन्न दलका कयौँ विरोध र अवरोध सामना गर्दै नेकपा एमालेले वृद्ध–वृद्धालाई भत्ता दिन सुरुवात गरेको बताएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नंं. ५ अन्तर्गत टोखा नागरपालिका–७ मा मंगलबार आयोजित ज्येष्ठ नागरिकसँग भेटघाट कार्यक्रममा पोखरेलले ज्येष्ठ नागरिकको हक हितका लागि आवाज उठाउने पहिलो पार्टी नेकपा एमाले भएको बताए ।

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्यष्ठ नागरिकलाई भत्ता दिन सुरू गरेको स्मरण गर्दै पोखरेलले भने, ‘अन्य दलका कयौँ विरोध र अवरोधलाई छल्दै ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने बनाउनु सरकारको दायित्व हो भनेर हामीले एक सय रूपैयाँ भत्ता दिन सुरू गरेका थियौँ । तर, कांग्रेस लगायत पार्टीले यसरी भत्ता दिँदा राज्यको ढुकुटी रित्तिन्छ भन्दै घोर विरोध गरेका थिए । तर, ज्येष्ठ नागरिकको सम्मान गर्ने एमालेको स्वच्छ उद्देश्यलाई अनेक विरोध सहेर पनि स्थापित गरिएको छ । ज्येष्ठ नागरिकहरू आज समाजमा सम्मान र इज्जतका साथ बाँचिरहनुभएको छ ।’

एमालेको सरकार छँदा भत्ता बढाएर ५ हजार रूपैयाँ पुर्याउने योजना बनाएको भए पनि सरकार बीचमै सरकारबाट हट्न परेकाले योजना पूरा गर्न नपाएको पोखरेलको भनाइ छ । ज्येष्ठ नागरिकलाई बोझको दृष्टिले हेर्ने गरेकोमा एमालेले उनीहरूलाई सम्मान दिनुपर्छ भनेर समाजमा चेतना फैलाउने काम गरेको पनि पोखरेलले बताए ।

आगामी मंसिर ४ को निर्वाचनका लागि एमालेले जारी गरेको घोषणापत्रमा पनि ज्येष्ठ नागरिकको हक हितका लागि धेरै एजेण्डा समेटिएकाले ज्येष्ठ नागरिकको हितका लागि पनि एमालेले आगामी निर्वाचन जित्नुपर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ । ज्येष्ठ नागरिकहरूले पोखरेलसँग आफूहरूलाई एउटा भवन आवश्यक रहेको र भवनमा भजनकीर्तन र जमघट गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

नेकपा एमालेको सरकार बनेपछि ज्येष्ठ नागरिकका समस्या समसाधान गर्दै मागबमोजिम भवन निर्माण गरिने प्रतिबद्धता पोखरेलले जनाएका छन् ।