
काठमाडौं, २१ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर-५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले चुनावका बेलामा गरिने फण्डाबाट प्रभावित हुन नहुनेमा जोड दिएका छन् ।
घरदैलो कार्यक्रमका क्रममा पौखरेलले निर्वाचनका बेलामा फण्डा सिर्जना गर्ने धेरै पात्रहरु रहेका भन्दै फण्डाबाट प्रभावित नभई देश विकासका लागि काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
कसले के भन्छ भन्दा पनि जनतासमक्ष कसरी चिनिएका छौँ भन्ने मुख्य कुरा भएको उनको भनाई थियो ।
“हामी जे हौँ जनता समक्ष खुलस्त छौँ । जनताको पक्षमा काम गर्न क्रियाशिल छौँ । यस्ता चुनावी फण्डाबाट प्रभावित हुने छैन, पोखरेलले भने ।”
आफ्नो र एमालेको काम जनताले देखेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावमा जनताले कामका आधारमा मूल्यांकन गर्ने बताए । पोखरेलले आफू मात्रै नभई एमालेका कुनै पनि उम्मेदवार तथा कार्यकर्ताले जनताको शिर झुकाउने काम आजसम्म नगरेको र अब पनि नगर्नेमा ढुक्क हुन मतदाताहरुलाई आग्रह गरे ।
एमालेको उद्देश्य राजनीतिक स्थायित्व, मुलुकको विकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने उनको भनाई छ । नीतिसहित, सिद्धान्तहीन र अस्थिरता सिर्जना गर्नेलाई पाखा लगाएर मुलुकलाई विकासको बाटोमा अघि बढाउनुपर्ने पोखरेलले बताए ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार पोखरेलले काठमाडौं–५ (१) का उम्मेदवार नारायणबहादुर सिलवाल र ५ (२) का दीपक निरौलाका साथमा घरदैलो र मतदाता भेटघाटलाई तीव्र पारेका छन् ।













प्रतिक्रिया