चरिकोट, १६ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा सम्भावित नतिजाबारे विश्लेषण हुनथालेको छ ।
दोलखामा पनि स्थानीय तहको मतपरिणामलाई आधार मानेर विभिन्न अड्कलबाजी सुरु भएको छ । जिल्लामा एमाले र सत्तारुढ गठबन्धनका उम्मेदवार प्रमुख प्रतिस्पर्धीको रुपमा रहेका छन् ।
प्रतिनिधिसभातर्फ एमालेबाट वालकृष्ण शिवाकोटी र गठबन्धनकातर्फबाट माओवादी केन्द्रका गंगा कार्की ‘विश्व’बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यसैगरी, प्रदेशसभा १ (क) तर्फ एमालेका नरबहादुर श्रेष्ठ र कांग्रेसका कुन्दन काफ्ले तथा प्रदेशसभा २ (ख) तर्फ एमालेका भरत केसी र कांग्रेसका बर्मा लामा चुनावी मैदानमा छन् ।
यस्तो छ, पालिका निर्वाचनको अंकगणित
गत स्थानीयतह निर्वाचनमा दोलखाका ९ स्थानीयतहमध्ये नेपाली कांग्रेस र माओवादीले समान ३ वटा पालिका प्रमुख जितेका छन् ।
एमालेले २ तथा एकीकृत समाजवादीले १ स्थानीयतहको नेतृत्व जितेका छन् । स्थानीयतहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा दोलखामा नेकपाएमाले धेरै अगाडि छ । एमालेको मत ३९ हजार ५० रहेको छ भने कांग्रेसको ३३ हजार ४३९ मत छ । माओवादी केन्द्रको मत १७ हजार ३७५ हजार छ भने एकीकृत समाजवादीले ३ हजार १५१ मतपाएको छ ।
यसकारण हुनसक्छ, एमालेको पल्लाभारी
पलिका निर्वाचनको नतिजाअनुसार माओवादी केन्द्रको मत तेस्रो अर्थात १७ हजार ३७५ मात्रै छ । यो आमनिर्वाचनमा उसले अघि सारेको संघको उम्मेदवारलाई जिताउन गठबन्धनमा रहेका अन्य दलको मत तान्न ठुलो कसरत गर्नुपर्ने हुन्छ ।
गठबन्धनको पक्षमा रहको भोट शतप्रतिशत झर्दा मात्र माओवादी केन्द्रको उम्मेदवारलाई जित सहज हुनसक्छ । स्थानीय निर्वाचनमा एमालेमा भएको अन्तरघातको मतपनि गठबन्धनको पक्षमा झरेको एमाले नेताहरुको बुझाई छ । यो पटक अन्तरघातको कुनै गुञ्जायस नरहेको एमालेका नेताहरु बताउँछन् ।













प्रतिक्रिया