२८ आश्विन २०८३, बुधबार

टोखावासीसँग पोखरेलले भने–टोखा-छहरे सुरुङमार्ग बन्न नदिन सत्ता गठबन्धनले बजेट काट्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनपछि पूर्वाधार विकासलाई गति दिन एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै टोखा छहरे सुरुङमार्ग गठबन्धन सरकार बनेपछि अलपत्र परेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा अ‍ोली प्रधानमन्त्री भएका बेला चीन सरकारसँग सम्झौता भएको उक्त सुरुङमार्ग बन्न नदिन सत्ता गठबन्धन लागेको भन्दै उनले त्यसका लागि एमालेको सरकार बन्नुपर्ने बताएका हुन् ।

टोखा नगरपालिका–२ मा आयोजित स्थानीय मतदातासँगको अन्तर्क्रिया कार्यक्रममा सोही क्षेत्रबाट निर्वाचित भएका र पुनः उम्मेदवार बनेका पोखरेलले टोखा–छहरेलगायत एमाले सरकारले अघि बढाउन चाहेका विकास र पूर्वाधार निर्माणका कामलाई गठबन्धनले नियोजित र योजनावद्ध ढंगले असफल बनाउन षड्यन्त्र गरिहेको आरोप लगाए ।

कार्यक्रममा सहभागी एक स्थानीयले टोखा–छहरे सुरुङ्मार्ग निर्माणबारे चासो व्यक्त गरेपछि पोखरेलले यस्तो जवाफ दिएका हुन् । ती सहभागीले टोखा–छहरे सुरुङ्मार्ग निर्माणका लागि बिनियोजन भएको रकम रकमान्तरण भयो भन्ने सुनिन्छ के हो ? भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलसँग प्रश्न गरेका थिए ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका पोखरेलले विकास र पूर्वाधार निर्माणमा पनि षड्यन्त्रपूर्ण राजनीति छिरेको र उच्च महत्वका साथ एमालेले अगाडि बढाएका थुप्रै राष्ट्रिय महत्वका कामहरु वर्तमान सत्ता गठबन्धनधारीहरुको प्राथमिकतामा नपरेको बताए ।

आर्थिक वर्ष २०७७/७८ को बजेटमा ओली नेतृत्वको सरकारले काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म बन्ने सुरुङमार्गको लागि ६ अर्व ४२ करोड रुपैयाँ बिनियोजन गरेकोमा वर्तमान गठबन्धन सरकारले रकमान्तर गरी बजेट कटाएको थियो । यो सडक चीनसँग जोडिने रणनीतिक महत्वको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा काठमाडौं टोखा–छहरे नुवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुवेंसीसम्म सुरुङ सहितको सडक निर्माण गरिदिन चीन सहमत भएको थियो ।

सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौता भएको थियो । चीनसँग त्यसबेला भएका २० समझदारीमध्ये यो आयोजना पनि एक थियो ।

‘हाम्रो सरकारको पालामा चिनियाँ राष्ट्रपतिको नेपाल आगमनसँगै पूर्वसम्भाव्यता अध्ययन गर्ने टोखा–छहरे सुरुङमार्गका साथै काठमाडौं–पोखरा रेल वे, दुल्लुको प्राकृतिक ग्यास र नवलपरासीको फलाम खानी उत्खनन्बारे पूर्व सम्भाव्यताबारे अगाडि बढेकै हो’, पोखरेलले भने–‘काँग्रेस नेतृत्वको सत्तागठबन्धन सरकार बनेपछि यी आयोजना पुरै बेवास्तामा पारिएका छन्, यो आयोजना अलपत्र बन्छ कि भन्ने चिन्ता मलाई पनि छ ।’

एमाले सरकारले अगाडि बढाएका विशेष महत्वका यि आयोजनालाई फेरि गति दिन पुनः एमाले कै नेतृत्व आवश्यक रहेको पोखरेलको भनाइ थियो । उनले भने–’हामीलाई फेरी अवसर दिनुस, यो गठबन्धनले अलपत्र पार्न खोजेका यी महत्वपूर्ण काम फेरि हामी अगाडि बढाउँछौ ।’

विगतमा एमाले नेतृत्वको सरकारले ६ अर्ब ४२ करोड रुपैयाँ बजेट बिनियोजन गरी निर्माण सुरु गर्न लागेको टोखा–छहरे सुरुङ मार्ग देउवा सरकारको प्राथमिकतामा समेत नपरेपछि चीनको सहयोगमा बन्न लागेको आयोजनाको भविष्य बारे चिन्ता प्रकट हुँदै गएको छ ।

चिनियाँ राष्टपतिको नेपाल भ्रमण लगत्तै चीनबाटै आएको प्राविधिक टोलीले सुरुङ मार्ग सहित रसुवागढी-काठमाडौं सडकको पूर्व सम्भाव्यता अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।