
काठमाडौं, १२ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जोडजाड पार्टीले देश चल्न नसक्ने बताएका छन् । आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका पोखरेलले देश निर्माणका लागि बलियो पार्टी आवश्यक पर्ने भन्दै यसका लागि एमाले एक मात्रै सक्षम पार्टीको भएको पोखरेलको भनाई थियो ।
काठमाडौंको बाँसबारीमा मतदातासँग अन्तर्क्रिया कार्यक्रममा बोल्दै वरिष्ठ नेता पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै ४०/४१ सीटमा मात्रै उम्मेदवार उठाएर प्रधानमन्त्री भएँ भन्दै हिँडेको टिप्पणी गरे ।
स्थानीय तहको निर्वाचनमा एमालेलाई सिध्याउने भन्दै हिँडेको गठबन्धनका अगाडि जनताले एमालेलाई सर्वाधिक मत दिएर गठबन्धनलाई झापड हानेको उनले बताए । एमाले सरकारकै पालामा देशमा विकास निर्माणको गति तिव्र रुपमा अगाडि बढेको दाबी गरे ।
केपी ओली प्रधानमन्त्री भएकै बेलामा रेल आएको, सुरुङमार्ग निर्माण सुरु भएको उनले दाबी गरे । पोखरेलले एमाले मुख्यत: राजनीतिक स्थायीत्व, राष्ट्रिय हितको रक्षा, सुशासन र आर्थिक समृद्विको एजेण्डा बोकेर हिँडिरहेको बताए ।
अन्तर्क्रिया कार्यक्रमा पोखरेलले बाँसबारीका जनताका समस्या तथा गुनासाहरु सुनेका थिए । स्थानीयले एमालेका जनप्रतिनिधि निर्वाचित भएर आएपछि टोलको मुहार फेरिएको भन्दै एमाले पार्टी र वरिष्ठ नेता पोखरेललाई धन्यवाद दिएका थिए ।
चत्रपथ विस्तारको योजना एमाले सरकार भएको बेलामा आएकामा अहिले गठबन्धन सरकारले विस्तारलाई अनेक प्रपञ्च गरेर बसुन्धरामै रोक्ने प्रयास भइरहेको भन्दै वरिष्ठ नेता पोखरेलले आपत्ति जनाए ।
स्थानीयले महिलाहरुको संस्थाका लागि भवन साथै बाँसबारी क्लवको जमिन खुला गरेर भोगाधिकार दिन पोखरेलसमक्ष माग गरेका थिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीयका गुनासालाई सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने बचन दिए ।













प्रतिक्रिया