बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

त्यो पो दशैं, अहिले त…

रेखा ओझा २०७९ असोज १५ गते १५:४३

– रेखा ओझा

मामु हलोइन आउन कति डेज बाकी छ ?

मैले प्रतिप्रश्न गरें– किन ?

ग्रोसरी गर्न मेरो साथमा वालमार्ट पुगेको मेरो छोराले स्टोरको साइडमा राखेको पम्किन यानेकी फर्सी र प्लास्टिकका अस्थिपञ्जर, कालो माकुरो अनि कपास देखाउँदै भन्यो– यो किनेर लैजाउँ न मामु हाउस डेकोरेट गरौं !

शरीर परदेशमै भए पनि आफ्नो मन भने त्यही गाउँघर, परिवार, साथीभाई सम्झेर कता–कता दशैंको माहौल सम्झेर टोलाइरहेको थियो । छोरोले जिस्किँदै ल्याएर शरीरमा टाँसिदिएको कालो माकुरोले म झसंग तर्सिएँ ।

ओहो दशैं, नाम सुन्दै कति रमाइलो लाग्छ है ! दशैं आउन सायद केही महिना बाँकी हुँदा होला–बुबाले दशैंका लागि भनेर छुट्टै खसी किनेर ल्याउनु हुन्थ्यो ।

रेखा ओझा

यो दशैंको खसी है भनेपछि त्यसलाई हामीले गर्ने स्याहारसुसार नै बेग्लै हुन्थ्यो । दशैंको बेला मान्छे बोलाएरै भए पनि घरका भित्ताहरु कमेरोले पोतिन्थियो अनि आंगनको छेउमा फुलेका सयपत्री, मखमली र गोदावारी फूलले घर त्यसै त्यसै उज्यालो देखिन्थ्यो । छिमेकक़ा सबै मिलेर पैसा उठाएर भए पनि बाबियोको ठूलो लट्ठारो बाटेर घर नजिकैको डाडामा लिंगे पिङ्ग हालिन्थ्यो ।

आँगन नजिकैको करेसाबारीमा थाक्रामा जबर्जस्ती टेका लाएर दशैंका लागि खलपीको अचार हाल्न भनेर राखेको त्यो पहेँलै पाकेको कॉक्रो देख्दा पनि दशैँ नजिक आउन लागेको आभास दिलाउँथ्यो ।

ओहो यो पृथ्वी त एउटा रंगमञ्च पो रहेछ अनि हामी त्यो रंगमञ्चमा अभिनय गर्ने एक पात्र । तीन घण्टाको सिनेमा जस्तो हाम्रो जिन्दगी अनि समय, समय चाँहि एक निर्देशक, समयले जे–जे हामीलाई निर्देशन गरेको छ, हामी त्यसमै अभिनय गर्न लागिरहेका छौं अनवरतरुपमा ।

हामीले मान्छे समय र परिस्थिति अनुसार फरक–फरक किसिमका अभिनय गरेर बाँचिरहेका छौं ।

ओहो हो कति गाह्रो छ है जिन्दगी हैट सम्झिदै कहाली लाग्दो ।

हिँजो बाल्यकालमा मैले बिताएको त्यो गाउँमा आज उज्यालो हुँदा म अँध्यारोमा सपना देखिरहेको हुन्छु । आफ्नो खुशीले आरामले निन्द्रा पुगेर मेरो आँखा नखुलेको पनि वर्षौ वर्ष बितिसकेछ । म निन्द्राबाट कहिले बिउँझिन्न फोनमा सेट गरेर राखेको अलारामको घण्टीले तर्साएर मलाई सधैं उठाउइदिने गर्छ ।

म हतार हतारमा आफूलाई रेडी गर्छु अनि गाडीमा ‘कोदो फूल्यो बारीमा लरि लै धानको बाला झूल्यो खेतैमा, तिमीलाई सुहाउँछ लरी लै जमरा र रातो टीकैमा’ म ड्राइभ गर्दागर्दै फ्लासब्याकमा जान्छु अनि त्यही गाउँघर र दशैंको रमाइलो सम्झिन्छु ।

साथीहरुसँग मिलेर खेलेको त्यो जुटपत्ती अनि स्कूलले दशैं बिदालाई दिएको त्यो होमवर्क उफ त्यो होमवर्क दशैँपछि स्कूल जाँदा सकाएर लानै पर्ने त्यो अर्को चटारो थियो हाहा… ।

आज त्यो दशैं अरुले फेसबुक र इस्टाग्रामका भित्तामा पोस्ट गरेका फोटोमा मात्र सीमित भएको छ हामी परदेशीका लागि । सोसियल मिडियामा देखाउनैका लागि भए पनि बिना साइत टीका लगाएर फेसबुकका भित्तामा पोस्ट गरेका ती तस्बीरले त दशैं सम्झाउला तर बाल्यकालमा आफ्नो गाउँघरमा घर र परिवार र साथीभाइसँग रमाएर मनाएको त्यो दशैंको झझल्को भने कहिले मेटाउन सक्दैन ।

प्रतिक्रिया
सम्बन्धित