
काठमाडौं, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र समूहबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर हुँदै एकता घोषणा भएको छ ।
राजधानीको राष्ट्रिय सभागृहमा भएको एकता घोषणापत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले ४ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमति पत्रको पहिलो नम्बरमा मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् र पार्टीका सबै नेतृत्वदायी समितिहरूमा सामेल हुनेछन् लेखिएको छ । दोस्रो नम्बरमा केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा केन्द्रीय समितिमा तहगत समायोजन लिङदेन र मिश्रबीच समझदारी अनुरूप एकता घोषणाको ७ देखि १० दिन भित्र हुने उल्लेख गरिएको छ ।
यसैगरी, सहमतिको तेस्रो र चौथो बुँदामा प्रदेश र अन्य तहगत समायोजनको लागि राप्रपाबाट २ र मिश्र पक्षबाट २ गरी चार सदस्यीय कार्यदल बनाइने तथा निर्वाचन आइसकेकोले तहगत समायोजन गर्दा काम नरोक्न र एक आपसमा मिलेर निर्वाचनका लागि जोडदार रूपमा तयारी गर्न सबैलाई आह्वान गर्ने उल्लेख गरिएको छ ।












प्रतिक्रिया