शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

ओलीको क्रेज: प्रचण्ड-माधव निस्तेज

निर्मल भट्टराई २०७९ भदौ ३० गते १७:०६

– निर्मल भट्टराई

आम निर्वाचन नजिकिंदै जाँदा गठबन्धन झन झन कमजोर हुँदै गएको र एमाले झनझन बलवान बन्दै गएको छ ।

गठबन्धन दलका प्रभावशाली नेता तथा हजारौंको सङ्ख्यामा दिनहुँ एमालेमा समाहित हुँदै गरेको अवस्थाले यो कुराको पुष्टि गरेको छ । गत स्थानीय निर्वाचनको परिणामको आधारमा होइन, आगामी आम निर्वाचनमा जनताले आफ्नो सार्वभौमिक अधिकार विल्कुल भिन्न ढङ्गले गर्ने आधारभूमि तयार भएको छ । एनकेन प्रकारेण जनताको अभिमत आफूतिर पार्न सबै दल र तिनका शीर्ष नेताहरू अहोरात्र खटिरहेको देखिन्छ । तर जनता एमालेको पक्षमा देखिएका छन् ।

– निर्मल भट्टराई –

समकालीन नेपाली राजनीतिका सबभन्दा लोकपृय नेताको रूपमा नेपाली जनताले एमाले अध्यक्ष के पी शर्मा ओलीलाई लिएका छन् । जनताले मात्र होइन,हिजो फरक पार्टीमा रहेका सयौं नेता- कार्यकर्ता देश बचाउने र देशको कायापलट गर्ने क्षमता ओलीमा मात्र रहेको निष्कर्षमा पुग्दैछन् । एक्लाएक्लै चुनावी मैदानमा ऊत्रँदा सबैलाई भ्याकुरो पछारेझैं पछार्न सक्ने तागत ओलीमा भएकै कारणं पाँच दल मिलेर ओलीको विरूध्दमा पौंठेजोरी खेल्न तयार भएका हुन् । हुन पनि दुई पटक मृगौला प्रत्यारोपण गराएका ओली देश र जनताको लागि १८ देखि २० घण्टा दैनिक खटिरहेका ओली देशको जुन कुनामा जान्छन् , त्यहाँ अरू पार्टीमा ठूलै पहिरो जान्छ । यस्तो लाग्छ, ओली एमालेका मात्र अध्यक्ष होइनन्, सबै नेपाली जनताका अध्यक्ष हुन् ।

समाजवादको आधार तयार पार्ने, उन्नत कूटौनीतिमार्फत् देशलाई स्वतन्त्र र सबल बनाउने, आफ्नो अघिल्लो कार्यकालका अधुरा काम सम्पन्न गर्ने, देशको विकास र जनताको पीरमर्का हटाएर ‘सुखी नेपाली, समृध्द नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो नेतृत्वमा एमालेको बहुमतको सरकार बनाउनु अपरिहार्य भएकोले एमालेको झण्डामुनि सबै देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्ति निर्वाचन अगावै गोलबन्द हुने सुन्दर परिस्थितिको निर्माण हुदैछ । एमालेको लागि सबभन्दा राम्रो जनसमर्थन मधेशमा जुट्ने निश्चित भएको छ । उपेन्द्र-महन्थ छोडेर धेरै नेता-कार्यकर्ता एमाले प्रवेश गरिरहेको अवस्था देख्दा लाग्छ- मधेशमा क्रान्ति हुँदैछ ।

मधेशी जनताको परिवर्तनको चाहना उपेन्द्र वा महन्थ कसैले पूरा गर्न सक्दैनन् बरू त्यो एमालेले पूरा गर्न सक्छ भन्ने भाव मधेशभर पैदा भएको छ । मधेशमा ओलीको क्रेज दिनानुदिन बढ्दै गएको छ । मधेश प्रदेशमा विगतमा तुलनात्मक रुपमा एमाले कमजोर थियो, आज त्यहाँ सबभन्दा ठूलो पार्टी एमाले भइसकेको अवस्था छ ।

अर्कातिर पटक-पटक प्रधानमन्त्री भए पनि देश र जनताको पक्षमा माखो मार्न नसकेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा एकीकृत कम्युनिष्ट पार्टीबाट बहिर्गमित प्रचण्ड र माधवको वैशाकी टेकेर आगामी आम निर्वाचनमा एमालेसँग प्रतिस्पर्धा गर्ने योजनामा छन् । विपीको समाजवाद पोलेर खाएका,पश्चिमा शक्तिको इशारामा चल्ने र उग्र कम्युनिष्टविरोधी भनेर चिनिएका देउवा विवादित एमसीसी संसदबाट पारित गराएकोमा गर्व गर्दैछन् । षणयन्त्र र जालझेलबाट आफ्नो कुर्सी जोगाउन देउवा असंलग्न परराष्ट्र नीतिमा अडिग नेपाललाई नजानिंदो पाराले अमेरिकी धुरीमा पुर्‍याउन उद्दत छन् ।

आफूलाई वामपन्थी भन्ने प्रचण्ड र माधव नेपाललाई विरालोले मुसो खेलाएझैं खेलाएर कांग्रेसको पोल्टामा बहुमत पुर्‍याउने र उनीहरूलाई लात हानेर कांग्रेसी एकाधिकार कायम गर्ने ग्र्यान्ड डिजाइन बनाउन एमालेविरोधी क्याम्प निरन्तर सकृय छ । देशको अग्रगतिको लागि कुनै अजेण्डा नभएको यो क्याम्प विगतको कम्युनिष्ट सरकारले गरेका युगीन महत्वका राम्रा कामको विद्रुपीकरण गर्नु र राज्यको दोहन गरेर आफ्ना आसेपासेको भरणपोषण गर्न व्यस्त छ ।

कुनै वैचारिक भिन्नता भएर होइन, देशलाई भलो हुने विषयमा गम्भिर मतभिन्नता भएर होइन, केवल ओलीको लोकपृयता र उचाइको रिस गरेर तत्कालिन नेकपाको अध्यक्षको गरिमामय कुर्सीबाट भागेर देउवाको पाउमा पुगेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इतिहासकै सबभन्दा ठूलो सङ्कटमा छन् ।

कुनैबेला माओवादलाई अन्तिम सत्य मान्दै संसदीय व्यवस्थाको उछित्तो काड्न जङ्गल पसेका प्रचण्ड अहिले संसदीय व्यवस्थाकै टिम फेरिरहने अविश्वसनीय खेलाडी बनेका छन् । हिजो माओवाद, नौलो जनवाद, सर्वहारा सांस्कृतिक क्रान्ति, सर्वहारा अधिनायकत्वजस्ता पदावली खेलाएर ‘जनयुध्द’ सञ्चालन गरेका प्रचण्ड जीवनको उत्तरार्ध्दमा ती सबै विषय त्यागेर आफ्ना परिवारलाई मालदार पद र आफ्नोलागि प्रधानमन्त्री पदको लागि ‘लास्ट इनिङ’ गर्दैछन् ।

उनका लागि अब माओवाद, क्रान्ति अन्तिम सत्य होइन, पद अन्तिम सत्य हो । विदेशी शक्तिसँग त्वम् शरण् गरेर होस् वा देशका घोर दक्षिणपन्थी शक्तिसँग घाँटी जोडेर होस् अब एक पटक प्रधानमन्त्री पद चाहिएको छ । वाद, विचार, सिध्दान्त तिलाञ्जली दिएर भए पनि एक पटक प्रधानमन्त्री हुने उनको अन्तिम लक्ष हो । आफ्ना सबभन्दा निकट ठानिएका सयौं नेता र हजारौं कार्यकर्ता एमालेमा समाहित भइसक्दा पनि ‘आगामी निर्वाचनमा माओवादी पार्टी सबभन्दा ठूलो पार्टी बन्छ’ जस्तो उटिपट्याङ् भाषण गर्न छोडेका छैनन् ।

जनताको बहुदलीय जनवादजस्तो नेपाली साम्यवादीहरूका लागि निर्विकल्प विचारका प्रणेता जननेता मदन भण्डारीको अकल्पनीय देहवसान भएपछि एमालेको महासचिव बनेका माधव नेपालले एमालेलाई १५ वर्षसम्म ‘न भाले न पोथी’को हालतमा पुर्‍याए । जब उनी पार्टी सत्ताबाट बाहिरिए, एमालेलाई ऐंठन दिने काम गर्न थाले । ओलीको इमान्दार र निर्णायक पहलबाट बनेको कम्युनिष्ट एकतालगत्तै सो एकतालाई भत्काउन प्रचण्डलाई दम दिन थाले । वास्तवमा बनिसकेको कम्युनिष्ट एकता छिन्नभिन्न बनाउने एक प्रमुख खलपात्र बनेर माधव नेपाल निस्किए ।

पौराणिक कालमा एकपटक एक ऋषि जङ्गल विचरण गर्दै थिए । उनले एक अजिङ्गरले आफ्नो पुच्छर आफैं निल्दै गरेको देखे । उनले सोचे- त्यो अजिङ्गरले त्यसरी नै आफैंलाई खाइरह्यो भने केही बाँकी रहँदैन । अजिङ्गरको त्यो अवस्थाबाट शून्य (०) अङ्कको उत्पत्ति भयो भनिन्छ । माधव नेपालको अहिले त्त्यही हालत छ । उनी आफैंले आफैंलाई खाँदैछन् । अर्थात् शून्यताको दिशामा जाँदैछन् । शारीरिक रूपमा समेत सानो कद भएका माधव नेपालको राजनीतिक कद घटेर लिलिपुटको तहमा पुगेको छ । आम निर्वाचन नजिकिंदै जाँदा माधव समूहका धेरै जिल्ला खाली नै गराएर नेता-कार्यकर्ता आफ्नो मूल घर एमाले फर्किएका छन्, फर्कने लाइनमा छन् ।

एक्लिदै गएका माधव नेपालले कुनै पद पाउने संभावना त छैन नै उनलाई आफ्नो कद जोगाउन कुनै हालतमा जोगाउन नसक्ने हालतमा पुगेका छन् । कुनैवेला आफैं पस्कने ठाउँमा भएका माधव नेपाल देउवाको अगाडि कटौरा थाप्नुपर्ने ठाउँमा पुगेका छन् । एमाले नेकपाको निरन्तरता भएको र प्रचण्ड र माधव नेपालको ‘वामपन्थी’ नाङ्ला पसल सुक्दै गएको अवस्थामा प्रचण्ड र माधव नेपालको माग्ने शक्तिसमेत दिनप्रतिदिन क्षीण हुँदै गएको छ ।

उल्लिखित समग्र परिस्थितिले प्रष्ट सङ्केत गरेको छ-आगामी पाँच वर्षको लागि नेपाली जनताले ओलीलाई सफल प्रधानमन्त्रीको रूपमा पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित