शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

‘मालिनी’: मित्रता, प्रेम र मानवताको वकालत

एसपी उप्रेती २०७९ भदौ २४ गते ९:४३

-एसपी उप्रेती

काठमाडौं । तीन जना बौद्ध भिक्षुहरु तपस्यारत हुन्छन् । कठोर तपस्यामा रहेका उनीहरुका अन्य सहपाठीले राजकुमारी ‘मालिनी’का गरगहना उतार्छन् । यस्तो देखिन्छ राजकुमारी वर्तमान यथार्थमा होइन अन्य कुनै अलौकिक संसारमा छिन् कतै ।

यस्तो पृथक परिस्थितिबाट सुरु भएको ‘मालिनी’को रहस्यमय तर अनौठो सुरुवात हुन्छ गौशालास्थित सिल्पी थिएटरमा । नोबेल पुरस्कार विजेता बंगली प्रख्यात कवि, उपन्यासकार, नाटककार तथा चित्रकार रविन्द्रनाथ टैगोरको मालिनी नाटकलाई पूर्वेली रंगकर्मी तथा निर्देशक सुदीपजंग कार्कीले निर्देशन गरेका छन् भने नेपाली अनुवाद नेचुरल्ली दीपकले गरेका छन् ।

भदौ २२ गतेदेखि नाटक मञ्चन भइरहेको मालिनी असोज २ गतेसम्म रहनेछ । दर्शक दीर्घको पहिलो कोलममा बसेर नाटक हेरिरहँदा यदाकता केही शतकअघिको परिवेशको झल्को हुन्छ । कुनै हिमालयको परिदृश्य जस्तो आभास दिने तपस्यारत अवस्थाले नयाँ केही भइरहे जस्तो सबैलाई अनुभूति दिलाएको हुनसक्छ । केही समयपछि हिन्दुत्वले राज गरेको राज्यकी राजकुमारी बौद्धको शरणमा पुग्छिन् ।

त्यसपछि राज्यमा विभिन्न तहतप्कामा बहस सुरु हुन्छ, त्यो बहस एउटा हिंसातर्फ पनि उन्मुख भइरहेको हुन्छ । राजकुमारीलाई देशनिकाला हुनुपर्ने हिन्दु धर्मका ब्राम्हणहरुले नारा लगाउँछन् । राजकुमारीले आफूलाई अलौकिक रुपमा महसुस गरेको बताउँछिन्, आफ्नो देशनिकालाको माग गर्नेप्रति पनि उनले दयाभाव देखिाउँछिन् ।

आफ्नी छोरीलाई अर्कै रुपमा पाएर महाराज र महारानी चिन्तित हुन्छन् । छोरीमा अन्य केही भएको उनीहरुलाई लाग्छ । तर समयक्रमसँगै आफूले सोचेजस्तो संसार नभएको राजकुमारीले ठम्याउँन थाल्छिन् । र पुनः सांसरिकताको निराशा, दुःख पीडाले उनलाई गाँज्न थाल्छ । यो सबै उनले महसुस गर्छिन् । यसबेलासम्ममा राज्यमा धेरै विषय भइसकेको हुन्छ ।

मित्रता, प्रेम विशेषगरी मानवतालाई उच्चतामा राखेको यस नाटकका क्लाइमेक्स तब आउँछ जब राजकुमारीले राज्यका केही हिन्दु ब्राह्मणहरुले आफ्नो देश निकालाको माग पूरा गर्न तत्पर हुन्छिन् । नाटकका केमांकर र सुप्रिया नामका हिन्दु ज्ञानीहरुको मित्रताले निकै अर्थ बोकेको देखिन्छ । करिब क्लाइमेक्सको मूल विषय पनि यही नै हो ।

उनीहरुबीचको प्रगाढ मित्रतामा राजकुमारीकै विषयलाई लिएर अन्ततः मर्ने र मार्ने परिस्थितिको जन्म हुन्छ । त्यसपछि के हुन्छ त ? त्यसका लागि भने बत्तिसपुतलीस्थित सिल्पी थिएटर सम्झनु उपयुक्त होला । नाटकले हिन्दु धर्म र बुद्ध धर्मबीचको केही शतक अघिको वैमनश्यताको झलक दिएको छ । नाटकको सार भने मानवता, मित्रता र प्रेम नै जीवनको उच्च धर्म भन्ने हो ।

नाटकले त्यसबेलाको समाजमा हिन्दुत्वको साम्राज्यमा हुर्किएको राज्यकै राजकुमारीमा बुद्वत्व प्रति जागेको आस्था र त्यसबाट पैदा भएको राजनैतिक तथा धार्मिक द्वन्दलाई निकै कलात्मक ढंगले प्रयास गरेको छ । नाटकका सबै पात्रहरु आफ्नो भूमिकामा अब्बल सावित भएका छन् । करिब एक घण्टाको समयावधि पलभरमै बितेको पत्तै हुँदैन ।

मानिसलाई अध्यात्मिक भाव समेत प्रदान गरेको नाटकमा कलाकारहरुले हरेक अवस्थालाई जीवन्तता प्रदान गर्न हदैसम्मको कोसिस गरेको अनुभूति हुन्छ । उनीहरुको त्यो मेहनतले पनि नाटकलाई बेग्लै किसिमको ऊर्जाशील बनाएको छ । नाटकमा दीक्षा चौधरी, अनिल खत्री, दिपक निरौला, विराज बाँसकोटा, अतीत निरौला, गोमा पौडेल, सुरज माझी, प्रदिप शर्दार, जीवन वस्नेत तथा निर्देशक कार्कीको बेजोड अभिनय रहेको छ । नाटकमा लाईट डिजाइन संञ्जय मुडियारीको रहेको छ भने म्युजिक सुरज माझीले दिएका छन ।

प्रतिक्रिया
सम्बन्धित