बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

प्रचण्ड : निर्वाचन ०७४ मा ४०% हिस्सा, ०७९ मा हिस्स !

निर्मल भट्टराई २०७९ साउन २६ गते १५:४८

सङ्घीय र प्रदेशसभाको निर्वाचनको घोषणा भएलगत्तै चुनावी जोडघटाउ सुरू भएको छ ।

एकातिर सर्वाधिक शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी (एमाले) छ भने अर्कोतिर नेपाली काङ्ग्रेसको नेतृत्वमा नेकपा(माओवादी केन्द्र) लगायतका साना वाम दल र मधेशवादी दल रहेका छन् ।

गठबन्धन दलमा नेपाली काङ्ग्रेस सिंहको हिस्सा लिने तरखरमा देखिन्छ भने माओवादी विगतमा ओलीसंग बार्गेनिङ् गरेजस्तै नेपाली काङ्ग्रेससंग बार्गेनिङ् गरिरहेछ । नेपाली काङ्ग्रेसले आफूलाई बहुमत सीट राखेर बाँकी गठबन्धन दललाई दिने निर्णय गरिसकेको छ ।

निर्मल भट्टराई

आफूलाई सय सीट राखेर बाँकी पैंसठ्ठी सीट माओवादी, माधव समूह, मधेशवादी दलहरू बाबुराम समूह, बामदेव समूह, मोहनविक्रम समूहलाई बाँड्दा सबभन्दा बढी हिस्सिने माओवादी नै हुन्छ । अरू समूहले बढी सिटको मात्र बार्गेनिङ् गर्छन् तर माओवादीले प्रधानमन्त्री पद र अरू राजकीय पद पनि बार्गेनिङ् गरिरहँदा नेपाली काङ्ग्रेस आगामी चुनावपछि माओवादी बाहेकको समीकरण बनाएर सरकार बनाउने रणनीतिमा छ ।

अर्थात् चुनावअघि एमालेको विरूध्द माओवादीलगायतका साना वाम दलको साथ लिने र चुनावपछि एमाले, माओवादीलगायतका सबै कम्युनिष्टलाई बाइकट गरेर विशुध्द दक्षिणपन्थी सरकार स्थापना गर्ने डिजाइन बोकेर अगाडि बढेको देखिन्छ ।

०७४ सालको बाम गठबन्धनमा एमाले र माओवादीले ६०-४० हिस्सामा सहमति गरेका थिए । त्यही गठबन्धनको कारण माओवादीले एक्लै कहिल्यै नजित्ने धेरै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो । कुनामा धकेलिइसकेको माओवादीलाई एमालेले प्रचुर मात्रामा हिस्सा दिएको थियो ।

संसदीय फाँटमा चालीस प्रतिसत हिस्सामात्र दिएन, पार्टी एकता हुँदा प्रचण्डलाई ओली समान अध्यक्षको आसनमा राखेको थियो । तर ती दुवै गौरवशाली स्थान प्रचण्डलाई बोकाको मुखमा कुभिण्डो भनेझैं भयो । प्रचण्डको बचकना पाराले नेपालको कम्युनिष्ट आन्दोलनलाई क्षणिक धक्का लागे पनि प्रचण्डको राजनीतिक जीवनमा सदाको लागि ग्रहण लाग्ने अवस्था आएको छ । आगामी पाँच वर्ष नेपाली काङ्ग्रेसकै नेतृत्वमा शासन सुम्पेर प्रचण्डको नेतृत्वको माओवादीलाई के फाइदा हुन्छ ? बरू नेपाली काङ्ग्रेसको सेप लागेर माओवादीहरूको बचेखुचेको क्रान्तिकारिता समाप्त हुने निश्चित छ ।

प्रचण्ड आफूलाई असाध्यै बाठो राजनीतिज्ञ ठान्दछन् । माओवादी वृत्तमा प्रचण्डले सबैलाई लट्पट्याउँछन् भन्ने भ्रम पालेर बसेका छन् । तर सत्य त त्यो हो- नेपालमा उनी जत्तिको अस्थीर, अपत्यारिला र अड्बाङ्गा राजनीतिज्ञ कोही छैनन् । उनीजस्तो सफेद झूट बोल्न सक्ने, कम्युनिष्ट नैतिकता त्याग्न सक्ने र भ्रम फिंजाउने नेता पनि कोही छैनन् ।

सत्ता सबै थोक हो अरू सबै भ्रम हो भन्ने बुझेका प्रचण्ड सत्ताको खोजीमा मृगमरिचीका भएर दौडिरहेका छन् । कि शक्ति बन्दुकमा हुँदोरहेछ, कि शक्ति पैसामा हुँदोरहेछ भनेर आफ्ना कार्यकर्तालाई प्रशिक्षित गर्ने प्रचण्ड पैसाको जोहो गर्ने जायज नाजायज सबै हथकण्डा अपनाउन पछि पर्दैनन् । न प्रचण्डको न माधव नेपालको पार्टी एक्लै आगामी निर्वाचन लड्ने सामर्थ्य राख्छन् । उनीहरूलाई ठूला पार्टीको टेको चाहिएको छ ।

उनीहरू चुनावमा नेपाली कांग्रेसले धेरै सीट देवोस् र चुनावपछि प्रधानमन्त्री पद पनि किस्तीमा राखेर देवोस् भन्ने इच्छा राख्छन् । यो असंभव कुरा हो । नेपाली कांग्रेसले कम्युनिष्टहरूलाई माया गर्दैन बरू काखमा राखेर रेट्छ ।

यो निर्वाचनमा देउवाकै पछिपछि झोली बोकेर हिंडे भने प्रचण्डले थाहा पाउने छन्- विगतमा ओलीले दिएको हिस्सा कति ऐतिहासिक रहेछ । एमालेले दिएको हिस्सा नपचेका प्रचण्ड मागे जति हिस्सा नेपाली काङ्ग्रेसले नदिएर हिस्स पर्दा के गर्ने हुन् हेर्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित