शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रचण्ड प्याराडक्स : काङ्ग्रेससंग सहवास, समाजवादको बकवास

निर्मल भट्टराई २०७९ साउन १४ गते १४:४२

– निर्मल भट्टराई

निर्वाचन आयोगले निकै पहिले संसदीय र प्रदेशको निर्वाचन मिति सिफारिस गरे पनि अझै देउबा सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन ।

गठबन्धनमा आगामी निर्वाचनको सीट बाँडफाँटको बार्गेनिङ नमिलेर हुन सक्छ वा निर्वाचनलाई कुनै बहानामा पछाडि धकेल्ने षणयन्त्र हुन सक्छ, निर्वाचनको मितिबारे अझै अन्योल कायम छ ।

संसदीय निर्वाचन नजिकिंदै जाँदा बालुवामा छरिएको तोरीझै छरिएर हराउन लागेका साना वाम दलका नेताहरू छुट्टै गठबन्धन बनाउने कसरतमा जुटे पनि भ्यागुत्ताको धार्नी पुगिहालेको अवस्था छैन ।

माओवादी सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै जसपाबाट अलग्गिएका बाबुराम भट्टराईलाई आफ्नो पार्टीमा ल्याउने असफल छलफलको सिलसिलामा जन्मिएको समाजवादी केन्द्रको बहस टाँइटाँइ फिस जस्तै भएको छ ।

जनताको बहुदलीय जनवादी लाइनमै भएको दावी गर्ने माधव नेपाल र झलनाथ खनाल, जबज नेपालको मात्र होइन, विश्वकै विचार भएको कुनै बेला जिकिर गर्ने बामदेव गौतमको एमाले बहिर्गमनपछिको आतुरी अझै मथ्थर भएको छैन ।

टालाटुली र पुराना कपडा बटुलेर एउटा समाजवादी बुख्याँचा बनाउने र सच्चा समाजवादी क्रान्तिकारी पार्टी एमालेलाई तर्साउने ध्याउन्नमा कमरेडहरू लागेकै छन् ।

आफ्नो जीवनको उर्जाशील समय खर्चेर बनाएको एमालेलाई कताबाट आगो झोस्न सकिन्छ भन्ने औडाहा भएपछि उनीहरू ध्वंसका मास्टर प्रचण्डको शरणमा जानु र दिक्षित हुनु नौलो कुरा भएन ।

हाल वाम एकताको बाँसुरी जोडसंग बजाइरहेका माओत्सेतुङ विचारधाराका अब्बल अनुयायी नारायणकाजी श्रेष्ठको साविक नेकपामा हुँदाको एकताविरोधी व्यवहार विरक्त लाग्दो थियो ।

माओवादसहित साम्यवादी विचारबाट पहिल्यै विरक्तिएर दक्षिणपन्थी गठजोड गर्दै आएका डा। बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी नामक स्वयम् पाक्के चुल्हो सुरू गरेका छन् ।

साविक नेकपाबाट उछिट्टिएको माओवादी केन्द्र र एमालेबाट चोइटिएको माधव-झलनाथ समूहलाई पोल्टामा राखेर स्थानीय चुनावमा बाजी मारेको नेपाली काङ्ग्रेसले हौसिएर आगामी निर्वाचनसम्म यी चोइटिएका वामलाई काखैमा राखेर एकल बहुमत ल्याउने र आफ्नै नेतृत्वमा शासन गर्ने निर्णय गरेपछि तिल्मिलाएका प्रचण्ड र माधव नेपाललाई ‘समाजवादी केन्द्र’ नामक बार्गेनिङ चिप्सको जरूरत थियो ।

झन प्रचण्डको भारत भ्रमण अपेक्षाकृत सफल हुन नसकेपछि नेपाली काङ्ग्रेससंग गठबन्धन कायम राख्ने, भारतलाई देउबाभन्दा बढी रिझाएर आगामी संसदीय निर्वाचनलगत्तै आलोपालो भन्दै काङ्ग्रेसकै सहयोगमा प्रधानमन्त्री बन्ने सपना तुहिएपछि प्रचण्डको छट्पटी चुलिएको सहज अनुमान गर्न सकिन्छ ।

चीनको प्रयासमा नेपालमा पुनस् वामएकताको प्रयास भइरहेको भारतलाई हाउगुजी देखाएर आफू वाम-लोकतान्त्रिक गठबन्धनकै पक्षमा रहेको बताउने उदेश्य नै प्रचण्डको हठात् भारत भ्रमणको प्रमुख उदेश्य थियो । तर भारतले प्रचण्डलाई ग्रीन सिग्नल नदिएपछि प्रचण्ड छाँगाबाट खसेझैं भए।

भारत एमालेविरोधी र काङ्ग्रेसी सत्ताको पक्षमा देखियो, प्रचण्डलाई आगामी निर्वाचनपछि पनि प्रधानमन्त्री स्वीकार्ने पक्षमा देखिएन । त्यसकारण भारतले केवल प्रचण्डलाई एमालेसंगको दूरी बढाउने तारतम्य मात्र गर्‍यो ।

आम निर्वाचन नजिकिंदै जाँदा पत्तासाफ हुने भयले निन्द्रा पर्न छोडेका माधव नेपाल र झलनाथ खनाललाई समेत लट्पट्याएर आफ्नो नेतृत्वमा समाजवादी केन्द्र बनाउने, अन्तिमसम्म नेपाली काङ्ग्रेस र एमालेसंग त्यही गठजोड देखाएर बार्गेनिङ् गर्ने र एनकेन प्रकारेण प्रधानमन्त्री बन्ने प्रचण्डको दाउ छर्लङ्ग देख्न सकिने कुरा हो । सबैले सहज अनुभूत गरेको विषय हो

नेपालमा समाजवाद नेकपा(एमाले)को हस्तक्षेपकारी सङ्गठित प्रयत्नबाट मात्र संभव छ । एमालेले तीन वर्ष शासन गर्दा सुरु गरेका धेरै कामहरूलाई निरन्तरता दिएर वा नयाँ कामहरूको थालनी गरेर मात्र समाजवादको आधार निर्माण गर्न सकिन्छ । समाजवादको आधार निर्माण गर्न र ती आधार टिकाइ राख्न एमालेजस्तो अजेयशक्तिको आवश्यक पर्छ ।

जनताबाट तिरस्कृत केही आउटडेटेड बाम नेतालेएमालेलाई देखाइदिने प्रमुख उदेश्य राखेर बनाउन खोजिएको ‘समाजवादी केन्द्र’ले समाजवाद निर्माण गर्ने होइन, बरु सङ्कट निम्त्याउने छ । भद्रगोलमा गोल गर्ने बानी परेका प्रचण्डको लागि त यो यति भयानक भद्रगोल हुनेछ कि उनी र उनको पार्टीलाई नै यसले गोलमटोल पारिदिने छ ।

दाहिनेतिर बाबुराम र बाँयातिर बिप्लव राखेर प्रचण्ड माधव नेपालहरूले समाजवादको ताँदो खिच्ने सम्भावना लगभग समाप्त भएको छ।दक्षिणपन्थी यथास्थितिवादी नेपाली काङ्ग्रेससंग निरन्तर सहवास गर्ने र कम्युनिष्ट मतदातालाई भुलाउन समाजवादको गफ दिने उनको वर्तमान प्याराडक्सको पर्दा चाँडै उध्रिने छ ।

नेपालको सबभन्दा ठूलो कम्युनिष्ट दल नेकपा(एमाले) र नेपाली काङ्ग्रेस र उसका सहयोगी दलसंग प्रतिस्पर्धा गरेर आफ्नै तागतमा सत्तामा पुग्ने तयारीमा जुटिसकेको छ । एमालेलाई आफ्नो शक्ति सुदृढ गर्नु छ, एकमना एकता कायम गर्नुछ । एकताको नाममा अनावश्यक सौदावाजी गर्नु छैन ।

बाहिर-बाहिर अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको चर्को विरोध गर्ने तर भित्र-भित्र देश र जनताविरूध्द उनीहरूसंगै साँठगाँठ गर्ने बहुरङ्गी नायकसंग एमालेले धेरै चोचोमोचो मिलाउनु छैन । बरू एमसिसी, एसपीपी र नागरिकता विधेयकमा देउबा दाहालको सन्दिघ्द चरित्रको राष्ट्रव्यापी भण्डाफोर प्रतिपक्षी एमालेको प्रमुख दायित्व हो ।

बहुमतसहित नेकपा(एमाले) सत्तामा पुग्दा देश समाजवादी गन्तव्यमा जाने र कथम्क दाचित् बहुमतसहित नेपाली कांग्रेस सत्तामा पुगेमा देश दलाल पूँजीवादी दलदलमा फस्ने निश्चित छ ।

यस्तो भावी दृश्य देख्दा देख्दै बीचमै बरालिने वामहरूलाई जनताले साथ दिने छैनन् । र, जति लामो समयसम्म माओवादी केन्द्रलगायतका साना दलले नेपाली काङ्ग्रेसको फेर समाएर राजनीति गर्छन्, उनीहरू समाप्तिको विन्दुमा पुग्दछन् ।

प्रतिक्रिया
सम्बन्धित